काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । बस सञ्चालनका लागि असोज पहिलो साता टेन्डर आह्वान भएको थियो । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । ‘बस सञ्चालनका लागि टेन्डर आह्वान भई सम्झौता भइसक्यो । तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन्,’ महानगर प्रमुख चिरिबाबु महर्जनले भने ।
विद्युतीय बस सञ्चालनका लागि महानगरले बस रुट भने तय गरिसकेको छ । तय भएको दुई रुटमध्ये पहिलो रुट महानगरको प्रांगण हुँदै मंगलबजार, कुमारीपाटी, पुल्चोक हुँदै महानगरको प्रांगणमै आइपुग्नेछ । दोस्रो रुटअनुसार महानगरको प्रांगणबाट मंगलबजार, सुन्धारा, महाबौद्ध, लगनखेल, एकान्तकुना, जाउलाखेल, पुल्चोक, कुपन्डोल हुँदै महानगरकै प्रांगणभित्र आइपुग्ने महानगरले जनाएको छ । नगर क्षेत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिई पर्यटकीय क्षेत्रमा विद्युतीय सवारी सञ्चालनमा ल्याउँदै जाने महर्जनले जानकारी दिए ।
महानगरले डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई विस्थापित गर्दै जाने भएको छ । ‘पहिलो चरणमा चारवटा बस सञ्चालन गर्दै छौँ । त्यसको प्रभावकारिता हेरेर थप्दै पनि जानेछौँ,’ महर्जनले भने, ‘बिस्तारै डिजेल, पेट्रोल सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई राख्ने हो ।’
पहिलो चरणमा चारवटा बस सञ्चालन गर्न लागेको महानगरले पर्यटक, ज्येष्ठ नागरिक र बालबालिकाका लागि भने निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । कति उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकालाई शुल्क नलिने भन्ने विषय कार्यविधि बनाउँदा समावेश गर्ने महानगरले जनाएको छ । कार्यविधि बनाएर विद्युतीय बस सञ्चालनका लगि छलफलसमेत सुरु भइसकेको छ । महर्जनले विद्युतीय बस सञ्चालनका लागि बजेट अभाव नहुने स्पष्ट पारे ।
महानगरपालिकाले विद्युतीय बस सञ्चालनका लागि आर्थिक वर्ष ०७५र७६ मै साढे दुई करोड रकम विनियोजन गरेको थियो । ०७५ असारमा विद्युतीय बसका लागि रकम विनियोजन भए पनि साझा यातायातको नियम परिवर्तन हुँदा बस सञ्चालनमा ढिलो भएको महर्जनको भनाइ छ । ‘हामीले विद्युतीय बस चलाउन साढे दुई वर्षअगाडि नै रकम विनियोजन गरेका हौँ । तर, बीचमा साझा यातायातको नियममा परिवर्तन भएका कारण रोकियो । हामीले लगानी मात्र गर्ने हो, सबै काम उहाँहरूकै तर्फबाट हुने हो,’ उनले भने, ‘हामीसँग विद्युतीय बस सञ्चालन गर्न सक्ने जनशक्ति छैन ।
सार्वजनिक सवारीको क्षेत्रमा लामो समयदेखि उहाँहरूसँग काम गरेको अनुभव छ । त्यही कारण साझा यातायातबाटै काम गराउन खोजेका हौँ ।’ उनका अनुसार विद्युतीय सवारी चलाउने प्रयास गर्नुको कारण प्रदूषण घटाउने, नेपाल विद्युत्मा आत्मनिर्भर हुँदै गएको अवस्थामा कम खर्चमै सञ्चालन हुन सक्ने भएकाले हो ।
सञ्चालक समिति सदस्य तुलाधरका अनुसार चार महिनाभित्र विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन पनि निर्माण हुनेछन् । ‘बस कस्तो खालको आउँछ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण गर्छौं,’ तुलाधरले भने, ‘चार्जिङ स्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणसँग छलफलमा छौँ । चार महिनाभित्र चार्जिङ स्टेसन निर्माण हुने गरी काम गर्छौं । नयाँ पत्रिकाबाट