डिसेम्बर ६ मा रुसीराष्ट्रपति भ्यादिमीर पुटिनको ६ घण्टे भारतभ्रमणले त्यसको पूर्वसङ्केत गरेको छ । पछिल्लोसमय रुस र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बन्नपुगेको छ । यदि यो तनाव यसरी नै कायम रहिरहे केही समयभित्रै रुस युक्रेनमाथि आक्रमण गरी कब्जा गर्ने मनस्थितिमा छ ।
यस्तो अवस्थामा रुसको विपक्षीक्याम्प अमेरिकालगायत युरोप, अष्ट्रेलिया र पूर्वीएसिया रुसमाथि घेराबन्दी गरी भारी पर्नसक्छ । तसर्थ रुस संयुक्त राष्ट्रसङ्घमा एक्लिने हुँदा, आफ्नोपक्षमा भारत उभियोस्, भन्ने चाहन्छ । किनकी १९७१ मा भारत–रुसबीच भएको सम्झौता अनुसार ‘भारत वा रुसविरुद्ध कुनै अर्को देशले युद्ध छेडेमा दुबैले आफैंमाथि आक्रमण गरेको सम्झेर जवाफी’ दिने अर्थात् रुसको दुश्मन भारतको पनि दुश्मन र भारतको दुश्मन रुसको पनि दुश्मन हुने प्रावधानबमोजिम यसको २ पटक प्रयोगसमेत भएको छ ।
१. भारत–पाकिस्तान युद्धमा पाकिस्तानलाई अमेरिका, चीन, टर्कीलगायत मध्यपूर्वएसियाको साथ रहँदा भारतलाई रुसको समर्थन रहेको थियो ।
२. त्यस्तै रुसलाई घेर्ने प्रयोजनबाट अमेरिकाले श्रीलङ्काले बन्दरगाहमा सैन्यअड्डा राख्दा भारतले तमिलविद्रोह गराई अमेरिकालाई भगाएको थियो । त्यसको प्रत्युत्पादक भारतका तत्कालीनप्रधानमन्त्री राजीव गान्धीको मृत्यु हुनपुगेको थियो ।
चलाख र सन्तुलन कायम गर्न माहिर मानिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछिल्लोसमय भू–राजनीतिको दबदबाको भुमरीबाट हम्मे–हम्मे गरी बच्दै आएका छन् ।
चीनसँगको सम्बन्ध चिसिँदै जाँदा भारत अमेरिकासँग पनि निकट बन्नपुगेको छ । जसको पछिल्लो उदाहरण अमेरिकाले गम्भीर अवस्था हुँदासमेत भारतमाथि नाकाबन्दी नगर्नुलाई मान्न सकिन्छ । भारतले अमेरिकी विपक्षी क्याम्प रुससँग प्रतिरक्षा प्रणाली एस–४०० को ५ रेजीमेण्ट खरिद गरेको छ । अमेरिकाले आफूविपक्षी राष्ट्रसँग सैन्य सामाग्री खरिदमा जो कोहीलाई नाकाबन्दी गर्ने प्रावधान हुँदाहुँदै पनि यसबाट भारत जोगिएको छ ।
विश्व भू–राजनीतिमा ढिलोचाँडो भारत चेपुवामा पर्ने निश्चित छ । जसको शृङ्खला शुरु भएको छ ।
जबकी अमेरिकी क्याम्पको नेटो सदस्य राष्ट्र टर्कीले यही सामाग्री खरिद गर्दा उसले हालको दिनमा नाकाबन्दीको सामना गरिरहनु परेको छ । यसबाट पनि के बुझिन्छ भने, अमेरिकाले आफ्नो क्याम्पमा तान्न सामरिक, भू–राजनीति, प्रविधि र आर्थिक पाटोबाट दबाबमा राखेर भारतमार्फत् दक्षिण एसियामा आफ्नो परोक्ष उपस्थिति बढाउन चाहन्छ । यसको पछिलो संस्करण क्वाड गठबन्धनमा भारत पर्नुले पुष्टि गर्दछ । त्यस्तै दक्षिण–पूर्व एसियामा चीनलाई रोक्ने अमेरिकाको भरपर्दो साझेदारका रूपमा भारतलाई बनाउँदैछ । यसअघि जापानलाई आफ्नो १ नम्बर प्रतिनिधि मान्दै आएको अमेरिकाले चीनको बढ्दो रफ्तारलाई जापानले थेग्न नसक्ने निष्कर्ष निकाल्दै चीनविरुद्ध प्रयोग गर्न भारतलाई १ नम्बर र जापानलाई २ नम्बर मान्न थालेको छ ।
दुई ठूला महाशक्तिलाई मिलाएर अघि बढेको र आफ्नो अहम् भूमिका रहेको भ्रममा भारत छ । जब महाशक्तिराष्ट्र एक–अर्काविरुद्ध आमुने–सामुने हुन्छन्, त्यो दिन भारत चेपुवामा पर्ने निश्चितप्रायः छ । नारदको भूमिका एक–अर्का भेट नहुँदासम्म मात्रै रहन्छ । जब दुईको भेट हुन्छ, त्यो दिन नारद दुबैको रिसमा पर्न सक्दछ ।
-
धीरज निष्पक्ष