बारा क्षेत्र नं १का सांसद अच्युत प्रसाद मैनालीले वन्यजन्तु पीडितलाई राहत र क्षतिपुर्तिको व्यवस्था मिलाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूलो जनसंख्या वन्यजन्तुको आक्रमणबाट पीडित हुँदै आएकाले यसमा लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप कानुनमा संशोधनको समेत आवश्यक औंल्याए ।
बैठकमा उनले भने,‘दिनहुँजसो सम्मानित यस सदनमा वन्यजन्तु र मानवबिचको द्वन्द्व तथा मानव क्षतिको विषयमा आवाज उठिरहेको छ । बारा,पर्सा ,चितवन ,बर्दिया जिल्ला लगायत देशका विभिन्न भूभागमा वन्यजन्तुको आक्रमणबाट सयौले ज्यान गुमाउनुपरेको छ। कुल भूभागको ४६ प्रतिशत वनले ओगटेको देशका वहुसंख्यक नागरिक वनको वरिपरी बस्ने , घाँसदाउरा तथा चौपाया चरण गरी जीविकोपार्जनको लागि वनमा जानु पर्ने र आवतजावतमा समेत वनमार्गको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।


हालको मौजुदा ऐनमा वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते बनाएमा राहतको लागि अनिवार्य अपांगता प्रमाण पत्र लिनुपर्ने व्यवस्था,गैडाले घर पालुवा जनावरलाई पुर्याएको क्षतिको राहतको व्यवस्था नभएको र वन सीमामा भएको मानव क्षतिको राहतको व्यवस्था नभएकोले लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप कानुनमा आवश्यक परिमार्जन गरी पीडितलाई राहत र क्षतिपुर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण सहित जोडदार माग गर्दछु ।’