उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन निजगढ, बारा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीलाई निजगढ छठ पुजा समितिले सोमवार सम्मान गरेको छ ।
छठ पर्व समापनको क्रममा निजगढस्थित बकैया घाटमा उम्मेदवार मैनालीलाई समितिको तर्फबाट अध्यक्ष हिृदय रौनियारले सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । सो अवसरमा मैनालीसंगै कोल्हबी नगरपालिकाका पुर्वनगर प्रमुख तथा नेकपा एमालेका नेता भरतबहादुर भण्डारीलाई पनि समितिले सम्मान गरेको थियो । ब्रतालु महिलाहरुसंग भेटघाट गर्ने क्रममा एमाले उम्मेदवार मैनाली सोमवार बिहान ५ बजे निजगढ आइपुग्नु भएको थियो ।
त्यसैगरी मैनालीले निर्वाचन क्षेत्रमा पर्ने सखुवा, ककडी, प्रसौना र सुखिपथरा छठी घाटमा पनि ब्रतालुसंग हिजो बिहान भेटघाट गर्नुभएको थियो । सो अवसरमा प्रदेश सभा क का उम्मेदवार त्रिलोकीप्रसाद चौधरी, एमाले नेता गोविन्द पौडेल, नेकपा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, किशोरीप्रसाद चौधरी, शिव रिजाललगायत एमाले कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । उता, प्रतिनिधिसभा सदस्यका प्रत्यासी मैनाली र सोही क्षेत्रको ख बाट प्रदेश सभा सदस्यमा जसपाका उम्मेदवार सरोजकुमार यादवको टोलीले यसअघि सिम्रौनगढ नगरपालिकाको विभिन्न छठी घाटमा पुगेर अस्ताउँदै गरेको सुर्यको पूजा आरधना गरी ब्रतालुहरुसंग भेटघाट गरेको थियो । यसैबीच सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन आइतवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले सोमवार उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । उदाउँदो सूर्यको पूजा आराधना गर्न बाराको निजगढ, कलैया, सिम्रौनगढ, बरियारपुर, जीतपुर, कोल्हबी लगायत विभिन्न नदी, तलाउ तथा जलाशयहरुमा बर्तालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।