प्रलाद तिमल्सिना , बारा
पार्टीबाट विद्रोह गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका सुरिता साह र शत्रुधन प्रसाद सिंह मन्त्री बन्न सफल भएका छन् ।
सुरिता २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट महोत्तरी २ (२) मा निर्वाचित भएकी थिइन् ।
पछि राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता भएपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो । साह पनि जसपामा पुगिन् ।
जसपाबाट महन्थ ठाकुरले पुनः अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । साह पनि लोसपा रोजिन् । उनी राजेन्द्र महतो निकट मानिन्छिन् ।
२०७९ सालको चुनावमा भने लोसपाले उनलाई पत्याएन । पार्टीले अर्कैलाई टिकट दिएपछि साहले लोसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिइन् ।
उनी चुनाव जित्न सफल पनि भइन् । प्रदेशसभामा दोस्रो पटक प्रवेश पाएकी उनी केही दिनअगाडि मात्र उपेन्द्र यादवबाट टीका थापेर जसपामा प्रवेश गरेकी थिइन् ।
जसपाले उनलाई सामाजिक विकास मन्त्रालय सुम्पेको छ । स्वतन्त्र सांसद रहेकै बेला उनले जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई समर्थन गरेकी थिइन् । त्यसपछि जसपाले उनलाई मन्त्री बनाउने सर्तमा पार्टी प्रवेश गराएको थियो ।
उनी जस्तै भाग्यशाली बने सिरहाका शत्रुधन प्रसाद सिंह । सिंह सिरहा क्षेत्र नम्बर २ (२) बाट नेकपा एमालेबाट निर्वाचित सांसद हुन् । उनलाई एमालेले आज गृह तथा सञ्चार राज्यमन्त्री बनाएको छ ।
मधेस आन्दोलनबाट उदाएका उनी २०६४ मा पहिलो संविधानसभा सदस्यमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए ।
त्यतिबेला पार्टी फोडेर विजय गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गर्दा सिंह पनि गच्छदारतिरै लागेका थिए । सो पार्टीबाटै पर्यटन राज्यमन्त्री बन्न उनी सफल भएका थिए ।
गच्छदारले पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएपछि सिंह उपेन्द्र यादवको पार्टीमा प्रवेश गरेका थिए । २०७४ मा सिरहा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवकै पार्टीबाट निर्वाचन लडे । तर, जित्न सकेनन् ।
२०७९ सालमा पनि उनी प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीमा थिए । तर, जसपाले सिरहा क्षेत्र नम्बर २ मा राजकिशोर यादवलाई टिकट दियो ।
त्यसपछि असन्तुष्ट बनेका उनी नेकपा एमालेमा प्रवेश गरे । एमालेले प्रदेशसभाको टिकट दियो र चुनाव लडे ।
चुनाव जित्न सफल सिंह एमालेको मधेस प्रदेशको संसदीय दलका नेताका दावेदार थिए । एमालेले भने सरोजकुमार यादवलाई दलको नेता बनायो । त्यसपछि उनले मन्त्री बन्ने आकांक्षा राखे । अहिले उनको आकांक्षा पूरा भएको छ ।
यता २०७४ सालमा बारा क्षेत्र नं १ क बाट नेकपा एमालेको तर्फबाट उमेद्वार बनेका त्रिलोकी चौधरी पहिलो पटक १८हजार ४ सय ४५ मत प्राप्त गरी १ हजार ९सय ६१ मतअन्तरले विजयी बनेका थिए । त्यस्तै उनलाई दोस्रो पटक पनि एमालेले प्रदेशसभाको टिकट दियो, चुनाव लडे र लोकप्रिय १६हजार ७सय ९८ मत प्राप्त गरी २हजार ५सय २८ मतअन्तरले विजयी बनेका छन । दोस्रो पटक समेत लोकप्रिय मतअन्तरले बिजयी बनेका चौधरी मन्त्री बन्न लायक र जनताले रुचाएका नेता समेत थिए तर पार्टीले खासै नरुचाएकाले भनौ या पार्टीले चासो नदिएकाले उनले कुनै पनि मन्त्रालयको जिम्मा पाउन सकेनन जस अनुरुप जनतामा निराशा छाएको छ । यसरी जनताले रुचाएर, पटक-पटक जिताएर पठाएको नेतालाई पार्टीले उच्च सम्मान नगर्दा आगामी चुनावमा जनताले पार्टीलाई नपत्याउन सक्ने बताउछन राजतिक विश्लेषकहरु ।