काठमाडौं- नेपालमा पछिल्लो समय युट्युबले सामाजिक संरचना नै खलबल्याएका छन् । केही समययता केही च्यानलले अर्काको निजी कुरालाई उछाल्ने, श्रीमान् श्रीमतीबीच फाटो ल्याउने, जबर्जस्ती रूपमा विवादमा ल्याउने गरेका छन् । यस्तै विषयले अहिले सञ्चारकर्मी ऋषि धमला तनावमा परेका छन् ।
भर्खरै अभिनेत्री निता ढुंगाना पनि आफ्नो व्यक्तिगत जीवनमा युट्युब च्यानलले अविश्वास जगाउने कार्यक्रम प्रसारण गरेको भन्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । उनले साइबर ब्युरोलाई पनि यसबारेमा जानकारी गराएकी छन् ।
अब यसरी अर्काको व्यक्तिगत जीवनमाथि खेलवाड गर्ने युट्युब च्यानल कारबाहीमा पर्ने भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।