निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।
आयोगले २०८३ मंसिर २ गतेको निर्णयअनुसार उनीहरूको पद स्वतः रिक्त भएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो।


पद रिक्त हुनेमा मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन्। मधेश प्रदेशअन्तर्गत सिरहाका तीन र पर्साका दुई जना जनप्रतिनिधि रहेका छन्।
त्यस्तै, कोशी प्रदेशअन्तर्गत खोटाङका आठ, भोजपुर, उदयपुर र सुनसरीका एक–एक तथा इलामका दुई जना जनप्रतिनिधिको पद रिक्त भएको आयोगले जनाएको छ।
पद रिक्त हुनेमा लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईलगायत छन्।
जसपा नेपालले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गर्दै दल त्याग गरेका जनप्रतिनिधिहरूको विवरण आयोगमा पठाएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त भएको आयोगले स्पष्ट पारेको छ।
















