काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तरराष्ट्रिय रोमिङ सेवा शुरू गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गर्न सक्ने एनसेलले बताएको छ ।
‘एनसेलले पहिलेदेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै सोमवारदेखि लागू हुनेगरी भारत जाने ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गछ । यो सेवा थपिँदा पहिले नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकका लागि भारत रोमिङ अझै परिष्कृत भएको कम्पनीले बताएको छ ।
‘विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आउने अन्तरराष्ट्रिय पर्यटक समेत सबै ग्राहकलाई उत्कृष्ट डेटा र भ्वाइस सेवा अनुभव प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ, ग्राहकलाई भारत भ्रमणका बेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गरिएको छ, थप अन्तरराष्ट्रिय मोबाइल सेवा प्रदायकसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षणमा छौं,’ कम्पनीले भनेको छ ।
एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनका चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाका बेल र टेलस लगायत प्रमुख अन्तरराष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको बताइएको छ ।
















