चर्चित पर्यटकीय गन्तव्य नगरकोट जानेहरूको उद्देश्य प्रायः सूर्योदय–सूर्यास्त र लहरै देखिने हिमशृखंलाको रमणीय दृश्यमा रमाउनु रहेको हुन्छ । त्यहाँबाट लहरै देखिने सगरमाथालगायत हिमशृंखलामा सूर्योदय र सूर्यास्तका बेला देखिने रमणीय दृश्य नगरकोटलाई चिनाउने ब्रान्ड नै बनेका छन् ।
तर, यी गतिविधि र पहिचान मात्रै नगरकोटको ब्रान्ड नभएर अन्य धेरै पर्यटकीय गतिविधिको संगम पनि नगरकोट रहेको भन्दै व्यवसायीहरू यसको रि–ब्रान्डिङमा लागेका छन् । नगरकोटको रि–ब्रान्डिङ गर्न त्यहाँका पाँच होटेल व्यवसायी एकजुट भएका छन् । ‘बियोन्ड द सनसाइज, सनसेट एन्ड हिमालयज्’ भन्दै ती होटेलले नगरकोटमा रहेका अन्य पर्यटकीय गतिविधिसहितको भिडियो बनाई सार्वजनिक गरेका छन् ।


कसरी रि–ब्रान्डिङ ?
नगरकोटलाई रि–ब्रान्ड गर्न विभिन्न गतिविधि पनि पहिचान गरिएको छ । यसका लागि महादेव पोखरी, मञ्जुश्री गुफा, नगरकोट भ्यु टावर, रानीझुला, बुद्ध पिस पार्क, वर्ड वाच, प्रकृति ट्रेल, साइक्लिङ रेस, बिहानीपख लाग्ने हाटबजार, नगरकोट एटीभी ट्रेल पहिचान गरिएको छ ।
झन्डै १ दर्जन पर्यटकीय गतिविधिको सम्भावना रहेको र यसको प्रचारप्रसार गरेर नगरकोटलाई रि–ब्रान्डिङ गर्ने समय आएको त्यहाँ ३७ वर्षअघि क्लब हिमालय सञ्चालन गरिरहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बताए । नगरकोटको रि–ब्रान्डिङको समय भइसकेको भन्दै शाक्यले थपे, ‘सनराइज, सनसेट र हिमाल मात्रै होइन, नगरकोटका अन्य गतिविधिलाई पनि उत्तिकै उजागर गर्नुपर्छ ।’
होटेल बढी, पर्यटकीय गतिविधि सीमित
भक्तपुरको नगरकोटमा १०० भन्दा बढी होटेल सञ्चालनमा आइसकेका छन् । पर्यटकलाई दिने सेवा र होटेलको क्षमता मात्रै बढेको तर पर्यटनका अन्य गतिविधि नथपिँदा/पहिचान नहुँदा गतिविधि नै साँघुरिएको व्यवसायीको भनाइ छ । यही बेला क्लब हिमालय, कन्ट्री भिल्ला, मिस्टिक माउन्टेन, काव्या हिमालय र सोल्टी वेस्टएन्ड रिसोर्ट नगरकोटले संयुक्त रूपमा प्रवर्द्धनात्मक भिडियो बनाएका छन् ।
ती होटेलले उक्त प्रवर्द्धनात्मक भिडियो नेपाल पर्यटन बोर्ड र सम्बद्ध नगरपालिकालाई हस्तान्तरण गरेका छन् । बिहीवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पाँचओटै होटेलका पदाधिकारीले भिडियो सामग्री बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबा, शंखरापुर नगरपालिका, चागुँनारायण र बनेपा नगरपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।
सीईओ जोशीले निजीक्षेत्रको लगानीमा बनेको नमूना गन्तव्य नगरकोट रहेको बताए । ‘नगरकोटमा अकोमोडेशन सेवा दिनका लागि गुणस्तरीय होटेलहरू त भए,’ जोशीले भने । ‘अब पर्यटक भुलाउने गतिविधिहरू थप्नु आवश्यक छ र त्यसमा काम गर्नुपर्छ ।’ नगरकोटमा बिदा मनाउन, विभिन्न सभा, सेमिनार, गोष्ठीका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । काठमाडौंबाट नजिकको गन्तव्यमा रहेको हरित हिलस्टेशन नगरकोट पुग्नेमा विदेशी पर्यटकहरू पनि प्रशस्त हुन्छन् ।
सोल्टी नगरकोटका महाप्रबन्धक विश्वदेव ढुंगेलले सेवा प्रतिस्पर्धी भए पनि गन्तव्य प्रवर्द्धनका लागि एक ठाउँमा उभिएको जानकारी दिए । उनले गन्तव्य प्रवर्द्धनका लागि एकाध गतिविधि मात्रै नभई थप गतिविधि पनि नगरकोटमा रहेको र त्यसको प्रवर्द्धनका लागि मिलेर काम अघि बढाएको बताए । मण्डनदेउपुर नगरपालिकाका मेयरले भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चारओटा नगरपालिकाको संगम गन्तव्य नगरकोट भएको र त्यसको प्रवर्द्धनका लागि सघाउने बताए ।
उनले वैशाख १ गते ‘नगरकोट भ्रमण वर्ष–२०८२’ घोषणा गरिसकेको र थप यस्ता गतिविधिका विषयमा जानकारी गराउने होटेलहरूको काम सराहनीय भएको बताए । नगरकोट भ्रमण वर्ष–२०८२ कै अवधिमा ती होटेलले भिडियो सामग्री हस्तान्तरण गरेका छन् ।
















