काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निजामती कर्मचारीहरूको बिदा विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ।
मन्त्रालयद्वारा जारी पत्र अनुसार विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा तथा बेतलबी प्रसूति बिदा लगायतका सम्पूर्ण बिदाको विवरण उपलब्ध गराउन भनिएको छ। उक्त विवरणमा बिदा स्वीकृत भएको अवधि र बिदा समाप्त भएपछि कर्मचारी हाजिर भएको मितिसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।


मन्त्रालयले सो विवरण आफ्नो आधिकारिक इमेल ठेगानामा पठाउन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार यस पहलको मुख्य उद्देश्य निजामती कर्मचारीहरूको बिदा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनु हो।
यस सम्बन्धमा सचिव चन्द्रकला पौडेलले सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेकी छन्।
















