लामो गलफतीपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ शुक्रबार (आज) प्रतिनिधिसभामा पेस हुने भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा समिति सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेस गर्ने उल्लेख छ।
समितिले प्रतिवेदन पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन्। यद्यपि, आज प्रतिवेदन पेस भए पनि छलफल हुने सम्भावना भने नरहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।


‘सभामुखको अन्यथा आदेश नभएमा प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको २४ घण्टापछि बस्ने कुनै पनि बैठकमा समितिका प्रतिवेदनहरूमाथि छलफल गर्ने सभाको नियमावलीमा व्यवस्था छ,’ प्रवक्ता गिरीले भने।
यसैबीच, बिहीबार नै लामो छलफल र फरक मतसहित पारित भएको विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी प्रतिवेदन भने सङ्घीय संसद् सचिवालयमा आइपुगेको छैन। गिरीका अनुसार, यदि प्रतिवेदन सभाको बैठक अगावै सचिवालयमा पेस भएमा सभामा पेस गर्न कुनै समस्या हुने छैन।
















