गाडी-साहुहरूको संगठन नाडा अटोमोबाइल एसोसिएसनको ‘१७औँ नाडा अटो शो’ गत मंगलबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । प्रर्दशनीको आर्कषणको रुपमा चाइनाबाट ल्याइएको ‘उड्ने कार’ हेर्न अवलोकनकर्ताहरूको घुइँचो देखिन्छ ।
गुडियाझैँ सजाइएको ‘उड्ने कार’ हेरेपछि कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीसमेत दंगदास परे, र भने- ‘संसारमा प्रविधिले अनौठो प्रगति गऱ्यो ।’ तर नेपालमा पनि आफ्नै कला र प्रविधि विकास गरेर गाडीहरू उत्पादन गर्नुपर्छ उनले भनेनन् । प्रधानमन्त्री ओली दलाल पुँजीपति र विचौलियाको घेरबन्दीमा छन् भनिन्छ । प्रधानमन्त्रीको किचेनसम्म विचौलियाकै रापताप रहेको काङ्ग्रेसकै कतिपय प्रभावशाली नेताहरूले बताएकै हुन् ।


भृकुटीमण्डपमा प्रर्दशनमा राखिएको ‘उड्ने कार’ नेपालीहरूले हेरे, छुन पाएनन्, चड्ने धेरै परको कुरा होला । ‘उड्ने कार’ देखाएर दर्शक भित्र्याउने गाडी साहुहरूको गज्जबको फर्मुला पनि हो । त्यसमाथि समाजवादको डम्फु बजाउँदै आएका कम्युनिष्ट प्रधानमन्त्रीले उद्घाटन नै गरिदिएर हौसला भरे । मानौं, अब समाजवाद ‘उड्ने कार’सँगै आउँछ । अर्का पुर्वप्रधानमन्त्री प्रचण्डले त प्रर्दशनीको अवलोकन गर्दै ‘उड्ने कार’ भित्रै बसेर हेरे । सायद समाजवादको अनुभव भयो पनि होला ।
एकातिर देशमा निरपेक्ष गरिवी २० प्रतिशत हाराहारी छ, एउटा तप्का भोक, रोगले यो २१औं शताब्दीमा पनि प्रताडित छ । अर्थतन्त्र पूरै जर्जर र परनिर्भर छ । गाडी घोडाको त के कुरा जनैदेखि सियोसम्म विदेशबाटै आयात गर्नुपरेको विडम्बना छ । अर्कोतर, गाडी–साहुहरूले ‘उड्ने कार’ प्रदर्शन गरेर कम्युनिष्ट प्रधानमन्त्रीको समाजवादको सपनामा उडान भरेका छन् ।
के उड्ने कार देखाएर आफना आयातित महँगा गाडीहरू बेच्न लागिपरेका साहुजीहरूलाई प्रोत्साहन गरेर देशको अर्थतन्त्र आत्मनिर्भर होला ? ती साहुजीहरूले आयात गर्ने महँगा विलासी गाडीहरूमार्फत देशको ठुलो धनराशि बाहिरिएको छ । वार्षिक ब्यापार घाटा १४–१५ खर्ब छ । देशको आफनै मौलिक उत्पादन केही छैन । तरपनि कम्युनिष्ट पार्टी भन्नेहरूसँग एक थान समाजवाद पुग्ने सिद्धान्त कथा छ । त्यो जबज होस्, माओवाद होस् या अनेकन कलेबरका वादहरू हुन् । न ती ब्यवहारिक छन् न कहिल्यै लागु हुन्छन् । हात्तीका देखाउने दाँत जस्ता भएका छन् ।
हामी ठण्डा दिमागले सोचौं त ! हामी नेपालीहरूको आर्थिक हैसियत करौंडौ बजारमुल्य भएका महँगा विलासी गाडी चढ्ने छ त ? सीमित धनाढ्यहरू होलान् । तर अहिले त आम रुपमा विलासी गाडीहरूको देखासिखी बढिरहेको छ, जसले भ्रष्टाचार, ठगी, करछली, वित्तिय अपराध अथवा अनेक रगंका कुर्कमलाई पश्रय दिइरहेको छ । जसरी हुन्छ कमाउने र विलासी गाडीमा रमाउने भन्ने खालका सोचहरू देखिन्छन् । सरकार आर्थिक रुपमा खोक्रो भइसकेको छ । विकास बजेट भन्दा वित्तिय व्यवस्थापनतर्फको खर्च रकम बढिरहेको छ । ३५० अर्ब भन्दा बढी रकम त सरकारले वार्षिक रुपमा ऋणको सावाँब्याज छुट्याउन खर्च गर्नु परेको छ । सरकारले राजस्व रकम संकलन गर्न पनि विलासी गाडीहरूको आयातमा सघाइरहेको छ । तर अहिले पनि देशमा ६० लाख भन्दा बढी मानिस बिहान के खाने अनि बेलुकी के खाने भन्ने अवस्थामा छन् । ‘उड्ने कार’का साहुजीहरूको पछि लाग्ने कि ती गरिव निमुखाहरूको स्तरोन्नति कसरी गर्ने भन्नेतर्फ सोच्ने हो प्रमज्यु ?
अब त संघारमै दशै, तिहार जस्ता पर्व आएका छन् । एकाथरी मान्छे करोडौंका कार चढेर घरगाउँ सफर गर्दै पैदलयात्रीलाई हिलो छ्याप्दै हिँड्ने बेला आउँदैछ । तर संविधानमै समाजवाद भनेर लेखिए पनि घुमाउरो पाराको सामन्तवाद झन् बढी मडारिएको छ । बोल्न नसक्ने, पुँजी नभएका मानिसहरू, संघ-सस्थाहरू प्रताडित छन् । बर्चस्ववालाहरू, दलाल पुँजीपतिहरू, विचौलियाहरूको देशमा रजगज छ । शिक्षा, स्वास्थ्य, ब्यापार, ठेक्कापट्टा जहाँ-जता पनि छलछाम गर्ने, धुर्त, टाठा बाठा, विचौलियाहरूको रजगज देखिन्छ । अनि आउँछ समानता र समाजवाद ?
अहिले पनि देशमा ६० लाख भन्दा बढी मानिस बिहान के खाने अनि बेलुकी के खाने भन्ने अवस्थामा छन् । ‘उड्ने कार’का साहुजीहरूको पछि लाग्ने कि ती गरिव निमुखाहरूको स्तरोन्नति कसरी गर्ने भन्नेतर्फ सोच्ने हो प्रमज्यु ?
कम्युनिष्ट नेताले चलाएको सरकार यस्तै हुन्छ ? किन गरिव, किसानलाई अपनत्व हुनेगरी बजेट तथा नीति कार्यक्रम आउँदैन ? किन असली किसानले वित्तिय संघ सस्थाबाट सजिलै ऋण पाउँदैनन् ? किन असली किसानले अनुदान पाउँदैनन् ? त्यता पो सोच्ने हो कि पिएम ज्यु ? सरकार भनेको अलि बढी कमजोर वर्गको भरोषाको केन्द्र हुनुपर्छ नि । गरिव तथा तल्लो वर्गको उत्थान नगरी तपाईंले भन्या जस्तो ‘सुखी नेपाल समृद्ध नेपाल’ आउँदैन पिएम ज्यु । आज गाउँघरमा अलिअलि देखिएको शुख सम्बृद्धि सबै विदेशीएकाहरूले पठाएको रेमिटयान्स्ले भरथेग गर्दा हो ।
त्यसकारण प्रधानमन्त्रीले गाडीसाहुहरूलाई ‘नेपालमै गाडी बनाउनुस्, त्यसको लागि सरकार सहयोग गर्न तयार छ’ भन्नपर्छ । विदेशी महँगा गाडी नचढौँ । ५० लाख भन्दा माथिल्लो दामका गाडीहरू नेपालमा बेच्नै नदिए पनि हुन्छ । किनकि यो गरिवी र असमानताले जकडिएको देशमा त्यस्ता विलासी गाडीहरूले गरिवमाथि भयंकर ब्यङ्ग्य गर्छ । विदेशबाट आयात गर्ने, बीचको मार्जिनमा रमाउने ब्यापारीहरूले सहयोग गर्ने भनेको विदेशको समृद्धिलाई हो । यो खालको ब्यापारले देश उँभो पनि लाग्दैन । दलाल पुँजीपतीहरूलाई दुरुत्साहन र स्वदेशी राष्ट्रिय औद्योगिक पुँजीपतिहरू जसले रोजगारी र आफ्नै देशमा उत्पादन बढाउन सहयोग गरेका छन्, उनीहरूलाई प्रोत्साहन गरौं । उदारवादको नाममा पुरापुर खुल्ला गरेर देशलाई विदेशीको बजारमा मात्र बनाउने हो भने हामी कसरी धनी हुन सक्छौ ? कसरी रोजगारी सिर्जना हुनसक्छ ?
भृकुटीमण्डप प्रर्दशनमा राखिएका ८० प्रतिशत भन्दा बढी ब्राण्डका गाडीहरू आयातीत हुन् । त्यहाँ नेपालीकोे केही अपनत्व छैन । त्यस्ता चिज, त्योपनि करोेडौं पर्ने विलासी कार, ‘उड्ने कार’ देखेर दंगदास पर्ने हो भने प्रमज्यु यो देश खोक्रो हुनेछ । देशको ‘ब्यालेन्ससिट’ गडबड हुनेछ । देश ऋणैऋणमा डुब्नेछ । अहिले नै जिडीपीको ४० प्रतिशत देशको ऋण भइसक्न लागको छ । त्यो सानो कुरा होइन् । त्यो ऋण कसरी तिर्ने, कहाँ-कहाँ खर्च भयो त्यत्रो पैसा ? सामाजिक तहमै त्यसको अडिट गर्नुपर्ने बेला भएन र ? ३ करोड नेपालीको प्रतिधित्व गरेर सत्तामा पुग्नुभएको प्रधानमन्त्रीले साहुजीहरूको चिन्ता गर्ने होइन नि ! उनीहरूको आम्दानीमा थोरै गिरावट आएछ भने केही फरक पर्दैन तर देशमा असमामनता र गरिवीचाहिँ घटाएर देखाउनुस् न ! छिमेकमा तपाईंकै छेको सत्तामा आएका राष्ट्रपति सी जिङ पिङले गत १० वर्षबीच ४० करोड जनतालाई गरिवीको रेखाबाट एकैचोटी शुन्यमा झारेर चमत्कार गरे, तपाईंहरूले कति झार्नु भो ? तपाइहरूको भजन-कीर्तन, गाउने र आसेपासेहरू उँभो लागे, अरु किन पछि परे ? त्यसको पनि हिसाब राख्नुस् । किनकि तपाईं ३ करोड नेपालीको पिएम हो । एउटा कुरा थाहा पाउनुस् प्रधानमन्त्रीज्यु, संसारकै धनी एलन मक्सहरूको कार (टेस्ला) खरिद गर्ने नेपालीको आम औकात हुँदैहोइन । र, उनका गाडी-घोडाहरूको प्रदर्शन नेपालमा जरुरी पनि होइन । नेपालमा नेपाली उत्पादनहरूको प्रदर्शन जरुरी छ । बरु पाडापाडी किनेर किसानलाई बाँड्ने जो कुरा गर्नुहुन्थ्यो, त्यो सही छ । बाँड्नुस्, त्यो राज्यकै पैसाले बाँडेपनि त्यसले देशलाई नै फाइदा गर्छ । उत्पादन र निर्यातलाई टेवा दिन्छ ।
३ सय ५२ बिलियन डलरका मालिक एलन मक्स जो पुरै नेपालको जिडीपीको आकार (४५ विलियन डलर) भन्दा ८ गुणा धनी छन्, त्यस्ताहरूको ब्राण्ड बेच्ने अभियानमा तपाईं प्रधानमन्त्रीले किन प्रोत्साहन गर्ने ? ‘उड्ने कार’ भित्रियो, के अब समाजवाद आउँछ त ? सोचौं, व्यवहारिक र यथार्थपरक भएर सोचौँ । हामी हाम्रो लागि अघि बढ्ने कि सीमित पुजिँपती र विदेशीको लागि ?
(गौतम आर्थिक विश्लेषक हुनुहुन्छ)
















