कर्णाली प्रदेशमा ५७० मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजना निर्माणको तयारी तीव्र भएको छ।
रुरु जलविद्युत परियोजना लिमिटेडले प्रवर्द्धन गर्न लागेको हुम्ला-कर्णाली १ र २ जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय-सुझावका लागि सार्वजनिक गरेको हो।


५७० मेगावाट क्षमताका यी दुवै आयोजनाको कुल लागत करिब १ खर्ब ३० अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ। हुम्ला-कर्णाली १ को क्षमता २३५ मेगावाट रहनेछ र यसको लागत अनुमान ५७ अर्ब २७ करोड रुपैयाँभन्दा बढी गरिएको छ। सो आयोजना हुम्लाको सर्केगाड र चंखेली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकामा फैलिनेछ।
नदी प्रवाहमा आधारित यो आयोजना २२ मिटर अग्लो बाँध, आठ किलोमिटरभन्दा लामो सुरुङ, भूमिगत विद्युतगृह र अन्य संरचनासहित बन्नेछ। आयोजना सञ्चालनमा आएपछि अधिकतम १३० घनमिटर/सेकेन्ड पानी प्रयोग गरी वार्षिक १ हजार ५ सय ३१ गिगावाट आवर विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ।
यसैगरी हुम्ला-कर्णाली २ आयोजना ३३५ मेगावाट क्षमताको रहनेछ। यसको कुल लागत करिब ७२ अर्ब ९० करोड रुपैयाँ अनुमान गरिएको छ।
यो आयोजना हुम्लाको सर्केगाड र खार्पुनाथ गाउँपालिकामा फैलिनेछ। यसअन्तर्गत ६२ मिटर अग्लो हेडवर्क्स बाँध, दुईवटा डाइभर्सन सुरुङ, १२ किलोमिटरभन्दा लामो हेडरेस सुरुङ र सतही विद्युतगृह निर्माण गरिनेछ।
आयोजना सञ्चालनमा आएपछि सुक्खा याममा करिब ६०९ गिगावाट आवर र वर्षायाममा १ हजार १ सय ८४ गिगावाट आवर विद्युत उत्पादन गरी वार्षिक १ हजार ७ सय ९५ गिगावाट आवर ऊर्जा राष्ट्रिय प्रणालीमा थपिने अनुमान छ।
दुवै आयोजना निर्माणका क्रममा आवश्यक पर्ने जग्गा, वातावरणीय प्रभाव न्यूनीकरण, वृक्षरोपण र सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ।
करिब एक खर्ब ३० अर्ब रुपैयाँको अनुमानित लागतमा बन्ने यी आयोजना सम्पन्न भए नेपालका ठूला निजी-क्षेत्र प्रवर्द्धित जलविद्युत आयोजनामध्ये प्रमुख बन्ने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशमै पहिलो पटक यस्तो ठूलो क्षमताका आयोजनाले ऊर्जा उत्पादनमा ऐतिहासिक फड्को मार्ने विश्वास गरिएको छ।
















