नेपाल वन प्राविधिक संघ मधेस प्रदेशले ‘वृक्षमानव’ को नामले चिनिनुभएका धनुषाका सुरेश शर्मालाई निजगढमा सम्मान गरेको छ।
संघको स्थापना दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर २ स्थित वनदेवी सामुदायिक वन क्षेत्रभित्र आयोजना गरिएको पुनः वृक्षारोपण कार्यक्रमका क्रममा संघका मधेस प्रदेश अध्यक्ष विन्देश्वर पटेलले शर्मालाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभएको हो।


पूर्व वन प्राविधिकसमेत रहनुभएका शर्माले वर्षौंदेखि ‘अपहेलित बिरुवा’ संरक्षण अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले घर, पर्खाल तथा आवादी क्षेत्रमा उम्रिएर नष्ट हुने अवस्थामा रहेका र चुनौती खेपिरहेका बिरुवाहरू संकलन गरी हुर्काएपछि वन क्षेत्रमा रोपण तथा संरक्षण गर्ने कार्य गर्दै आउनुभएको भन्दै संघले सम्मान गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष पटेलले वन तथा वातावरण संरक्षणको क्षेत्रमा समर्पित व्यक्तिहरूको योगदानको कदर गर्ने संस्कार विकास गर्न संघले शर्मा जस्तो व्यक्तित्वलाई सम्मान गरेको बताउनुभयो। उहाँले मधेस प्रदेशको पर्यावरण संरक्षणका लागि नेपाल र भारतका वन तथा वातावरणसम्बन्धी प्राविधिकहरूको संयुक्त पहल आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा संघले यस दिशामा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेस प्रदेश वन मन्त्रालय तथा निर्देशनालयका प्रतिनिधि, डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंह, डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमद, डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साह, भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्साका प्रमुख विरेन्द्रप्रसाद पटेल, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापालगायत वन अधिकृत, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
















