अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल सडक विस्तार परियोजनाले हाल तीव्र गति लिएको छ। पहिलो चरणमा समेटिएको साँगा–धुलिखेल खण्डको निर्माण अवधि एक वर्ष थपिएपछि निर्माण कम्पनीले कामलाई तीव्र बनाएको हो। प्रारम्भिक म्याद विसं २०८२ मङ्सिर २५ सम्म तोकिए पनि सो अवधिमा करिब ६० प्रतिशत मात्र प्रगति भएपछि आयोजनाको समयसीमा विस्तार गरिएको थियो।
आठ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्डमा अहिले कालोपत्रे, सडक चौडा गर्ने र पहाड काट्ने काम भइरहेको छ। धुलिखेल र पुलबजार क्षेत्रका करिब दुई किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा ग्राभेल हाल्ने र पर्खाल निर्माणको काम जारी छ। लामो समयदेखि विवादका कारण रोकिएको पुलबजारको करिब ३०० मिटर सडक खण्डमा समेत समस्या समाधान भएसँगै निर्माण कार्य पुनः अघि बढेको छ। लामा कन्स्ट्रक्सनले करिब चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का पाएको यस खण्डमा पिच बाहेकका संरचनागत काम करिब ९० प्रतिशत पूरा भएको निर्माण कम्पनीको भनाइ छ।


यस्तै, दोस्रो चरणको सूर्यविनायक–साँगा खण्डमा भने हालसम्म ४५ प्रतिशत मात्र प्रगति भएको छ। यस खण्डको म्याद आगामी पुस १८ गते समाप्त हुँदैछ। अहिले जनागाल, बाँसघारी, बुडोल र भैँसेपाटी क्षेत्रमा सडक विस्तार, काटान तथा सर्भिस लेन निर्माणको काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्भर्ट जडान तथा चण्डेश्वरी खोलाको आसपास पर्खाल निर्माणको काम पनि सँगसँगै अघि बढाइएको छ।
दिनप्रतिदिन बढ्दो सवारी चापलाई मध्यनजर गर्दै यो सडकलाई ६ लेनमा विस्तार गर्न लागिएको हो। कुल १५.५ किलोमिटर लामो सडक विस्तार सम्पन्न भएपछि काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाबीचको आवागमन उल्लेखनीय रूपमा सहज हुने अपेक्षा गरिएको छ। म्याद थप भएसँगै आयोजनाले बाँकी संरचना हटाउने, आवश्यक पूर्वाधार तयार गर्ने र कालोपत्रे कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
















