अत्यधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै बाराका विभिन्न पालिकाहरूले थप तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
पछिल्ला दुई सातादेखि जारी शीतलहर र चिसो कम नहुँदा निजगढ नगरपालिका र कलैया उपमहानगरपालिकाले जाडो बिदा थप लम्ब्याएका हुन्।


निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले आज जारी गर्नुभएको सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसोका कारण विद्यालयहरूमा नियमित पठनपाठन कार्यमा असहजता देखिएको र यसले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बुधवारदेखि शुक्रवारसम्म थप बिदा दिन अनुरोध गरिएको उल्लेख छ।
सूचनामा विद्यालयहरूले वार्षिक रूपमा विद्यालय खुल्नुपर्ने दिन नपुग्ने अवस्था देखिएमा अन्य विदाका दिनहरूमा विद्यालय सञ्चालन गरी समायोजन गर्नुपर्ने व्यवस्था गर्नसमेत जानकारी गराइएको छ।
उल्लेखनीय छ, जाडो सुरु भएयता निजगढ नगरपालिकाले यसअघि पनि गत पुस ९ गतेदेखि १४ गतेसम्म दुई पटक विद्यालयमा बिदा दिएको थियो।
अत्यधिक चिसो कायमै रहेकाले अभिभावक तथा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि स्थानीय तहहरूले सतर्कता अपनाउँदै थप निर्णय गर्न सक्ने संकेत गरिएको छ।
















