बाराको निजगढ नगरपालिका वडा नम्बर ६ मा माघ २१ देखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२, श्रीमत्ताराम सागर १०८ पारायण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मन्दिर कलश आवरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।
आयोजक श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी मन्दिर, निजगढले शुक्रबार महोत्सव स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीबारे जानकारी गराएको हो।


मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाका अनुसार महोत्सव स्थलमा संरचना निर्माण, मन्दिर सजावट, बालपार्क निर्माण, अतिथिहरुको आवास र भोजन व्यवस्था, प्रचार–प्रसारलगायत कार्य ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। “विगत दुई महिनादेखि ४३ वटा उपसमितिमार्फत तयारी तीव्र रूपमा अघि बढाइएको छ,” उहाँले भन्नुभयो, “निजगढमा पहिलो पटक राष्ट्रियस्तरको धार्मिक कार्यक्रम हुन लागेकाले सोहीअनुसार व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।”
उहाँले यस महोत्सवले निजगढको पहिचान, गौरव र धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महोत्सव उद्घाटनको दिन बिहान विशाल तथा भव्य कलश शोभायात्रा निकालिने जानकारी दिइएको छ। साथै, माघ १० गते प्रचार–प्रसारका लागि पोस्टर तथा पम्पलेटिङ, माघ १६ गते पत्रकार सम्मेलन र माघ २० गते बिहान ९ बजे मोटरसाइकल ¥याली आयोजना गरिनेछ।
महोत्सव अवधिभर दैनिक रूपमा बिहान ५ बजेदेखि मङ्गल आरती, योग–ध्यान, वाणी चर्चा, सेवा पूजा, श्रीमद्भागवत कथा वाचन, सन्त–महन्त तथा अतिथिहरुको प्रवचन, आरती, प्रसाद वितरण तथा साँझ भजन–कीर्तन र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवमा नवतनपुरीधाम जामनगरका श्रीकृष्ण प्रणामी धर्माचार्य श्रीकृष्णमणीजी, सुरतका सूर्यनारायण दासजी, मंगलधाम सिक्किमका सुधाकर महाराज, कृपासिन्धु गुरुकुल सिमराकी विदुषी उषा घिमिरेलगायत ख्यातिप्राप्त विद्वान तथा विदुषीहरुले धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ। पत्रकार सम्मेलनको सहजीकरण मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले गर्नुभएको थियो।
















