बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
सुकुम्वासीका नाममा मोतीपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि बुटवल उप-महानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गर्दै प्रशासनले आजदेखि निषेधाज्ञा लागू गरेको हो ।
करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला जम्मा गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा आवतजावत भेला जम्मा नहुन नगर्नका लागि कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै २८ भदौ देखि अर्को सूचना जारी नहुँदा सम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।
निषेधित क्षेत्र भित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।