धनगढी,७ असोज । चाडपर्व मनाउनका लागि घर फर्कन थालेसँगै रोजगारको खोजीमा भारत गएका नेपालीहरु सीमा नाकामा उनीहरुबाट जबरजस्ती पैसा असूल्न थालिएको छ ।
गौरीफण्टा नाका भएर आउने नेपालीहरुबाट नाकामा खटिएका भारतीय प्रहरी र भन्सार कर्मचारीले जबरजस्ती पैसा असूल्न थालेका हुन् । भारतीय सुरक्षाकर्मीले सामान चेकजाँचका नाममा पैसा माग्ने र नदिनेलाई विभिन्न वहानामा रोकेर पैसा दिन बाध्य पार्ने गरेका छन् । मजदुरी गरेर चाडपर्व मनाउन घर फर्कन लागेका नेपालीमाथि नाकामा खुलेयाम असुलि भइरहेको हो । भारतीय प्रहरी र भन्सार कर्मचारीले व्यक्तिपिच्छे भारु ५०, सय, दुई सय, पाँच सयसम्म असुल गर्ने गरेका घर फर्केका नेपालीहरुले बताएका छन् । आफूले लगाउने लुगाफाटो बोकेर आउँदा पनि नाका पार गर्दा भारतीय सुरक्षाकर्मीलाई पैसा तिर्नु परेको उनीहरुको गुनासो छ ।
भारतको बैंग्लोरमा मजदुरी गरेर फर्किएका कञ्चनपुर महेन्द्रनगरका रतिराम बिकले नाकामा प्रहरीलाई एक सय भारु बुझाएपछि वारी आउन पाएको बताए । श्रीमती र तीन नाबालक छोराछोरीसहित गौरीफण्टा नाकाबाट स्वदेश फर्केका उनलाई चेकजाँच गर्ने भन्दै त्यहाँ खटिएका भारतीय प्रहरी र भन्सार कर्मचारीले रोकेर पैसा मागेका थिए । लुगाफाटोबाहेक अरु सामान नभएको आग्रहसहित सय भारु बुझाएपछि आउन दिएको बिकले बताए । ‘सबै सामान खोलेर एकएक गरी देखाउ भन्दै थिए, सामान देखाए पनि पैसा नदिएसम्म केही न केही बहानामा रोकिहाल्थे ।’ बिकले भने, ‘उनीहरुसँग विवाद गरेर लागेर झमेलामा पर्नुुभन्दा पैसा दिएर आएँ ।’ गुजारा गर्न समस्या भएपछि कोरोना संक्रमणको पहिलो महामारीमा लकडाउकै बीच भारत पसेका उनी त्यहाँ वाचमेनको काम गर्थे । बच्चा पाउने भएपछि श्रीमती तथा दुई नाबालक छोराछोरीलाई पनि एक वर्षअघि उतै बोलाएका बिक दसैँ मनाउन परिवारसहित घर फर्केका हुन् ।
भारतीय प्रहरीले पैसा नदिए विभिन्न वहानामा रोक्ने, सामान खोलेर राख्ने र छरपष्ट पारिदिने, जफत गरिदिने आदि अनावश्यक दुख दिने गरेको घर फर्कने नेपालीहरुको गुनासो छ । गौरीफण्टा नाका वारी भेटिएका बझाङको मष्टा गाउँपालिका–१, सुरज ओखेडाले पनि भारतीय प्रहरीलाई एक सय भारु तिरेर आएको बताए । सामान चेकजाँच गर्न भन्दै रोक्न थालेपछि पैसा दिएर उम्किएको उनले बताए । भारतको गुजरातबाट फर्किएका झलारी सुरेन्द्र रानाले भारतीय प्रहरीले पैसा नदिँदासम्म सामान चेकजाँच गर्नुपर्ने वहानामा रोकेर राखेको बताए । एक सय ५० रुपैयाँ दिएपछि मात्र आउन पाएको उनले बताए । ‘पैसा माग्दै थिए, सामान चेक गर्नु तर पैसा छैन भनेपछि पुरै सामानको कागजात हेर्नुपर्ने भन्दै रोकेर राख्यो ।’ उनले भने, ‘दुख गरी कमाएको पैसाले घरपरिवारलाई किनेको सामान राखिदेला भन्ने डर लाग्यो । पछि डेढ सय भारु दिएर आएँ ।’
भारतको बैँग्लोरमा काम गर्ने बझाङको मष्टा गाउँपालिका–१, का दलबहादुर ओखेडा दसैँ मनाउन गाउँका अन्य छ जनासँगै गौरीफण्टा नाका भएर मंगलबार स्वदेश फर्के । सामानको नाममा उनीसँग आफ्नै पुराना कपडा र परिवारका लागि ल्याएका केही जोर नयाँ लुगा थिए । त्यही सामान देखाएर भारतीय प्रहरीले ओखेडासँग सय रुपैयाँ असुले । ल्याएको दुई–चार छाल लुगाफाटो पनि उतै राखिदेला भन्ने डरले पैसा तिरेको बाध्यता उनले सुनाए । ‘लुगाफाटोमात्रै थियो, ल्याउन नमिल्ने सामान त केही पनि थिएन, तैपनि पैसा तिर्नु प¥यो ।’ नाका वारी भेटिएका ओखेडाले भने, ‘पैसा नदिञ्जेल लुगाको बिल देखाउ, के के देखाउ भनेर रोक्न थाले ।’
गौरीफण्टा नाकामा भारतीयले घर फर्कने नेपालीलाई दुई ठाउँमा चेकजाँच गरिरहेका छन् । सुरुमा भारतीय प्रहरी र भन्सार कर्मचारीले चेकजाँच गर्छन् । सडक छेउतिर बनाइएको क्याबिनमा चेक गर्ने उनीहरुले अधिकांश नेपालीबाट पैसा असुल्छन् । पैसा नदिए थप चेकजाँच गर्ने नाममा रोकेर राख्छन् । रोक्ने डरले कतिपयले आफै पैसा दिएर आउँछन् । वारी नेपालको सीमाबाटै भारतीय प्रहरी र भन्सार कर्मचारीले पैसा लिएको देख्न मिल्छ । सीमानामै रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि भारतबाट फर्कनेको सामान जाँच गर्छ । सीमानामा वारीपारी रहेको एसएसबी र शसस्त्र प्रहरीको पोष्ट करिब ३० मिटरको दुरीमा छन् । भारतीय प्रहरीले पैसा असुल्न थालेको सुनिए पनि एसएसबीले भने खुलेयाम लिएको नसुनिएको नाकामा खटिएका नेपाली सुरक्षाकर्मीले बताएका छन् ।
भारतीय प्रहरी र भन्सार कर्मचारीले पैसा असुलिरहेको सुनिएको शसस्त्र प्रहरी नायब निरिक्षक दलबहादुर दुवालले बताए । ‘पारी नेपालीबाट पैसा असुल्ने गरिरहेको सुनिएको छ तर हामीसँगै कसैले गुनासो गरेका छैनन् ।’ दुवालले भने, ‘एसएसबीसँग हाम्रो नियमित समन्वय भइरहेको छ । एसएसबीबाट नेपालीलाई अफ्ठेरो भएको सुनिएको छैन ।’ पैसा तितेर आए पनि वारी नेपाली सुरक्षाकर्मीलाई गुनासो गर्ने प्रवृति नरहेको उनले बताए । दैनिक गुजारा गर्न समस्या भएपछि कोरोना महामारीकै बीच कामको खोजीमा भारत गएका नेपालीहरु चाडपर्व मनाउन घर फर्कन थालेका हुन् । प्रहरीका अनुसार गौरीफण्टा नाकाबाट अहिले दैनिक करिब सात सय जना स्वदेश फर्किरहेका छन् । चाडपर्व मनाउन घर फर्कने नेपाली ठगिने र लुटिने क्रम बढेको छ ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा कोरोनाको त्रास र भारमा रोजगारी गुमेपछि घर आएका हजारौँ सुदूरपश्चिमेली घर फर्केका थिए । तर यता बेरोजार बस्दा गुजारा चलाउन समस्या भएपछि महामारीकै बीच उनीहरु भारत फर्के । छाक टार्ने समस्याले महामारी उत्कर्षमा पुगेकै बेला नाकामा भारत जानेको घुँइचो लाग्यो । भारत गएकाहरु पनि लकडाउने काम नपाउँदा केही समय बेरोजगार बसे ।
नाकामा घण्टौँ लाइन लागेर भारत गएकाहरुले घर फर्कने बेला पनि उस्तै सास्ती खेप्नु परिरहेको छ । अझ ठाउँठाउँमा ठगिदा र लुटिदा कमाएर ल्याएको पैसा बाटोमै सकिने गरेको उनीहरुको गुनासो छ । ‘गाउँमा रोजगारी पाइएन, गुजारा गर्न समस्या भएपछि दुई÷चार पैसा कमाउला भनेर गएको थिएँ तर कमाएर ल्याएको पैसा बाटोमै सकिने भयो ।’ भारतको गुजरातबाट फर्केका अछाम मंगलसैनका ललित परियारले गुनासो गरे । नेपाली ठगिने र लुटिने क्रम बस चढेबाटै सुरु हुन्छ । गौरीफण्टासम्म ल्याउने भने पनि अधिकांश बसले नेपालीलाई गौरीफण्टाबाट करिब ४५ किलोमिटर दुरीमा रहेको पलिया बजार छोड्छ । त्यहाँबाट गौरीफण्टा पुग्दा ठगिने र लुटिने क्रम बढी हुने गरेको छ । पलियामा नेपालीको सामान चोरिने, लुटिने घटनाहरु हुने गरेका छन् ।
नाका वारी रिक्सा चालकको ठगी
नाकामा भारतीय सुरक्षाकर्मीमात्र होइन, नेपाली रिक्सा चालकले पनि नेपालीलाई ठग्ने गरेका छन् । नाकादेखि धनगढी बसपार्कसम्मको रिक्सा भाडा एक जनाको ३० रुपैयाँ रहेकोमा रिक्सा चालकले सामानसमेत बोकेको नाममा हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । बाटोभरि ठगिदै नाकामा पुगेका नेपालीहरु त्यहाँ रिक्सा चालकको तानातानमा पर्ने गरेका छन् । कतिपयले रिक्सा चालकले पारिबाट सामान ल्याइदिएको नाममा जबरजस्ती आफ्नो रिक्सामा जान बाध्य पार्छन् । यात्रु तान्न वारी रिक्सा राखेर पारी नाकासम्म पुग्ने रिक्सा चालकहरु नाका पार गराइ दिने भन्दै घर फर्कने नेपालीबाट पैसा असुलेर भारतीय सुरक्षाकर्मीलाई बुझाउने गरिरहेका छन् ।
पारीबाट सामान बोकेर वारी ल्याएको समेत उनीहरुले चर्को पैसा असुलिरहेका छन् । रिक्सा चालकले मनपरी भाडा लिने गरेको गुनासो बढेपछि प्रहरीले तीन दिनयता कडाइ गरेको छ तर तोकिएको भन्दा बढी भाडा असुल्ने, पारी पुगेर जबरजस्ती सामान ल्याएर आफ्नै रिक्सामा जान बाध्य पार्नेजस्ता कार्य अझै रोकिएको छैन ।