सिमरा : मोहित गुरुङको एकमात्र निर्णायक गोलको मद्दतमा आयोजक नवजनजागृति यूवा क्लब सिमराले जीतप्ुरसिमरा गोल्डकपको सेमी फाइनल यात्रा तय गरेको छ ।
हेटौंडाको टोली एन्फा मकवानपुरलाई अन्तिम समयमा स्तब्ध पार्ने क्रममा मोहितले खेलको ८५ औं मिनटमा गोल गरेका थिए । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले बचाउको कुनै अनुमान समेत गर्न सकेनन् ।
सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब सातहजार दर्शकको समर्थन पाएको आयोजक सिमराले आकर्षक अवसरहरु बनाएपनि मकवानपुर विरुद्ध जित निकाल्न अन्तिमसम्मै संघर्ष गर्नुप¥यो ।
पहिलो हाफमा मकवानपुरले आयोजक विरुद्ध शुरुवाती अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले डिबक्स भित्रै बनाएको आकर्षक अवसरलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार फितलो बन्दा सिमराका गोल रक्षक युनेश चौधरीले बचाउ गरे ।
खेलको १६ औं मिनटमा मकवानपुरले अर्को अवसर गुमाएको थियो । अनिश महर्जनको क्रसमा अभिषेक लामाको हेडर सिमराका डिफेण्डर सिशस थापाले गोललाइनबाट क्लिएर गरे ।
खेलको १८ औं मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोलरक्षक टोपबहादुर रानामगरले बचाए । साइरब तामाङ्गको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए ।


खेलको ८० औं मिनटमा आयोजक सिमराले आकर्षक अवसर गुमाएको थियो । समिन ढकालको पासमा अभिषेक महतोको प्रहार क्रसबारमा लागेर बाहीरियो । डिबक्स भित्र समिनले निकालेको सुन्दर पासमा अभिषेकले सशक्त प्रहार गरेका थिए ।
खेलको ग्रिन इनर्जी म्यान अफ दि म्याच आयोजक सिमराका मोहित गुरुङ घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । उनलाई ओमनी मोटर्सका दिलिप हमाल र ग्रिन इनर्जीका शैलेश साहले ट्रफि प्रदान गरेका थिए ।
आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबविच प्रतिस्पर्धा हुनेछ । ८ टिम सहभागि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।