काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पाइने सहुलियत कर्जामा आकर्षण बढेको छ। ब्याज अनुदानमा दिइने सहुलियतपूर्ण कर्जा उपयोग गर्ने ऋणी लाख नाघेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार १ लाख ११ हजार ४ सय ७१ जनाले सहुलियत कर्जा लिएका छन्। ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीले प्राप्त गरेका छन्।
१० शीर्षकमा यस्तो कर्जा दिँदै आएकोमा बैंक तथा वित्तीय संस्थाबाट २०७८/०७९ को पहिलो महिनामा मात्रै महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ४ हजार ७ सय ७१ थपिएको छ। उक्त संख्यामा सहुलियत कर्जा लिने महिला थपिँदा साउनसम्म ६० हजार ३ सय २२ जना पुगेका छन्। उनीहरूले ५५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ सहुलियत ऋण लगेका छन्।
महिला उद्यमशीलता शीर्षकमा बिनाधितो ६ प्रतिशत ब्याज अनुदानमा प्रतिव्यक्ति १५ लाखसम्म ऋण पाइन्छ। बिनाधितो लिन पाउने सुविधा भए पनि बैंकहरूले धितोबिना ऋण दिन आनाकानी गर्ने गरेको महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष रीता सिंह बताउँछिन्।
आमा नेपाल (ढाका तथा अल्लो)सञ्चालक सिंह भन्छिन्, ‘अझै वास्तविक महिला उद्यमी सहुलियतपूर्ण कर्जा सुविधाबाट बञ्चित छन्।’ नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बिना धितोमा जोखिम बढी हुने भएकाले बैंकले धितोमा कर्जा रुचाएको तर्क गर्छन्। कतिपय लघुउद्यमीको वित्तीय विवरण निश्चित ढाँचामा नहुने र पारदर्शी नभएका कारण साना लगानीकर्ता महिलालाई कर्जा दिन नसकिएको बैंकरहरू बताउँछन्।
ऋणी संख्याको आधारमा दोस्रो स्थानमा रहे पनि व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय शीर्षकमा कर्जा उपयोग गर्ने ऋणीको संख्या बढी छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनसम्म ४८ हजार ४ सय ९८ जनाले १ खर्ब १२ अर्ब ७४ करोड ६६ लाख सहुलियत ऋण पाएका छन्। कृषिमा बिना धितोमा भन्दा बढी धितो कर्जामा लगानी भएको छ। यो शीर्षकको कर्जा ५ प्रतिशत ब्याज अनुदानमा ५ करोडसम्म पाउन सकिन्छ। यसभन्दा बढीको कर्जा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ।
सहुलियतअन्तर्गत सबैभन्दा कम सीटीभीटीबाट अनुमति लिएका संस्थाबाट तालिम लिनेहरू छन्। दुई जनाले यसको ३ लाख ७० हजार मात्रै ऋण लिएका छन्। बैंकरहरू भने सो शीर्षकमा माग कम भएको बताउँछन्। युवा स्वरोजगार कर्जा ९ जनाले मात्र उपयोग गरेका छन्। उनीहरूको ३१ लाख ऋण लिएका छन्।
‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा हालसम्म १ सय ४५ जनाले ६ करोड ३४ लाख रुपैयाँ ऋण लिएका छन्। यसमा प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा लिन पाउने व्यवस्था छ। यस्तो ऋणमा उत्कृष्ट प्रोजेक्ट योजना र विश्वास नभएसम्म पत्याउन गाह्रो हुने बैंकरहरूको तर्क छ। शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा दिँदा जोखिम हुन सक्ने उनीहरू बताउँछन्।
‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा हालसम्म ८ सय ५९ जनाले कर्जा लिएका छन्। उनीहरूले ६० करोड ७७ लाख ऋण उपयोग गरेका छन्। शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म लिन पाइने व्यवस्था छ।
दलित समुदाय व्यवसाय विकास कर्जा १ हजार १५ जनाले ६० करोड ६७ लाख रुपैयाँ लगेका छन्। त्यस्तै १ सय २२ जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लाभ लिएका छन्। उनीहरूले २ करोड ८९ लाख रुपैयाँ कर्जा लगेका हुन्। २ सय ३३ जनाले भूकम्प पीडितले निजी आवास निर्माण गर्न ५ करोड ४२ लाख रुपैयाँ कर्जा लिएका छन्।
२ सय ६६ जना कपडा उद्योगीले २ अर्ब २७ करोड २८ लाख सहुलियत कर्जा लिएका छन्। सहुलियतपूर्ण कर्जाको ब्याजदर बैंकले आधार दर ९बेस रेट० मा २ प्रतिशत थपेर मात्र ब्याज निर्धारण गर्नुपर्छ। यसरी जोडेर आएको ब्याजमा अनुदानको घटाउँदा बाँकी ब्याजदरमात्रै ऋणीले बुझाउनु पर्छ भनेर अन्नपूर्ण पोस्ट् दैनिकले लेखेको छ ।