बाराको कलैया उपमहानगरपालिका वडा नम्बर- १२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालय प्राङ्गणमा नाँचगान गर्न हिजो विद्यालयमा बिदा दिएको छ ।
मुअवामाईको मेलाको लौवण्डा नाँच देखाउन संचालन भइरहेको प्रथम त्रैमासिक परीक्षा स्थगित गरेर विद्यालयमा बिदा दिएको हो । हिजो हुने गणित बिषयको परीक्षा स्थगित गरि नाँचगानको लागि विद्यार्थीहरुलाई बिदा दिइएको प्रधानाध्यापक राजकिशोर सहनीले जानकारी दिनुभयो ।
स्थानीयबासी र विद्यालय व्यवस्थापन समितिको दबाबमा विद्यालय बन्द गरेर परीक्षा स्थगित गरिएको प्रअ सहनीले बताउनुभयो । स्थगित भएको परीक्षा आउँदो शनिबार लिने गरि विद्यालयमा बिदा मिलाइएको प्रधानाध्यापक सहनीको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ यादवले स्थानीय गाउँले र अभिभावकहरुको आग्रहमा विद्यालयमा बिदा दिइएको स्वीकार गर्नुभयो ।
सो विद्यालयमा कक्षा एकदेखि आठसम्म करिब दुई सय ५० जना विद्यार्थी अध्यनरत छन् ।