काठमाडौं । वित्तीय प्रणालीमा तरलता अभाव बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले फेरि नयाँ कर्जा रोकेका छन् । निरन्तर ऋणको माग बढेको तर उक्त अनुपातमा निक्षेप संकलन हुन नसक्दा कर्जा रोक्नुपर्ने अवस्था आएको बैंकरहरू बताउँछन् । कान्तिपुरलाई प्राप्त सूचनाअनुसार बिहीबारसम्म १७ वाणिज्य बैंकमा तरलता अभाव छ । बाँकी ९ वटामा बैंकमा तरलता पर्याप्त नभए पनि अप्ठ्यारो परिसकेको छैन ।
तरलता अभाव रहेका करिब डेढ दर्जन बैंकमध्ये ८ वटाले नयाँ कर्जा प्रवाह पूर्णरूपमा रोकेका छन् । बाँकी बैंकले पनि प्राथमिकताका आधारमा स–सानो कर्जा मात्र प्रवाह गरिरहेका छन् । ‘धेरै बैंकले कर्जाका लागि आवेदन संकलन गर्ने तर दिइनहाल्ने गर्दै आएका छन्,’ स्रोतले भन्यो, ‘ती बैंकमा सीमित वर्ग र क्षेत्रका ग्राहकलाई मात्र कर्जा दिइएको छ । बाँकीलाई विभिन्न बहानामा पन्छाउने गरिन्छ ।’
यो २०७५ सालकै स्थिति हो । त्यतिबेला पनि तरलता अभाव हुँदा बैंकहरूले कर्जा रोकेका थिए । तरलता अभाव धेरै भएका बैंकले कर्जा प्रवाह रोकेको सुन्नमा आएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘सबैले रोकेका छैनन् । केहीले हाललाई रोकेको सुन्नमा आएको छ,’ उनले भने, ‘कात्तिकमा थप सरकारी खर्च हुने र भुक्तानी सन्तुलन सकारात्मक हुने अपेक्षा गरेका छौं ।’ त्यसपछि ती बैंकहरूले पनि कर्जा प्रवाह सुरु गर्ने उनको अनुमान छ ।
पैसा नभएपछि थप कर्जा प्रवाह टाढाको विषय भएको अर्का एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘ग्राहकलाई पैसा नभएर कर्जा रोकेको भन्न भएन,’ ती अधिकारीले भने, ‘पैसा छैन, कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि पुगिसकेको छ । यस्तो अवस्थामा कसरी कर्जा दिने रु’ अहिले बैंकहरूलाई व्यवसाय विस्तारभन्दा पनि निर्देशित सीडी अनुपात कायम गर्नै अप्ठ्यारो भएको उनको गुनासो छ ।