परासी । पश्चिम नवलपरासीको सुस्ता–५ का उत्रिचन राजभरले प्रतापपुर–६ स्थित कठहवामा तीन बिघामा केरा खेती गरेका छन् । जग्गा भाडामा लिएर खेती गरेका उनको बगानमा यति बेला केरा कुहिएका छन् । एउटै बोटमा आधा पाक्ने, आधा काँचो रहने र झर्ने समस्या छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ का मोतीलाल कोहिरीको बगान र कुहिएको केरा । तस्बिर स् नवीनरकान्तिपुर
‘दुई महिना भयो केरा बिक्रीका लागि तयार भएको । तर व्यवसायी किन्न नआउँदा बोटमै केरा कुहिन थालेका छन्,’ उनले भने, ‘केरामा रोग पनि लागे जस्तो छ । गाउँपालिका र कृषि ज्ञान केन्द्रमा पटक–पटक जानकारी गराएका छौं । तर अहिलेसम्म कोही पनि प्राविधिक आएका छैनन् ।’
प्रतापपुर–६ का मोतीलाल कोहीरीले १० बिघामा केरा लगाएका छन् । अघिल्लो वर्ष दसैं–तिहारमा केही सस्तोमा भए पनि केरा बिक्री भएको थियो । तर यस वर्ष दसैंमा पनि केरा बिक्री भएन । त्यसमाथि केरा तयार हुनेबित्तिकै बोटमै पाक्ने र बोट मर्ने समस्याले गर्दा दुई बिघाभन्दा बढीमा लगाएको केरा नष्ट हुन लागेको छ । ‘खेती गर्दा र जग्गाको भाडा तिर्दा १० लाखभन्दा बढी खर्च भइसकेको छ । तर अहिलेसम्म मुस्किलले ४ लाख रुपैयाँको भन्दा केरा बिक्री भएको छैन,’ उनले भने, ‘सीडीओ कार्यालय गइयो, कृषि कार्यालयमा गयौं । तर सुनुवाइ कहीँ भएन ।’
पाँच वर्षअघिसम्म उखु खेती गर्दै आएका यस क्षेत्रका किसानले उखुको मूल्य र भुक्तानीमा बर्सेनि समस्या आएपछि केरा खेती रोजेका थिए । तर अहिले उत्पादन भएको केरा पनि बिक्री हुन छाडेपछि किसान थप समस्यामा छन् । भारतबाट अवैध रूपमा केरा भित्रिएपछि नेपाली किसानले उत्पादन गरेको केरा बिक्री हुन छाडेको हो । नेपाल–भारत दुवैतर्फका किसानले केरा खेती गर्दै आएका छन् । भारतमा उत्पादन लागत कम हुने र बजार मूल्य सस्तो भएकाले भारतीय किसानले महँगोमा बिक्रीका लागि नेपालतर्फ भन्सार छली गरेर केरा पठाउने गरेका छन् । यसको प्रत्यक्ष मारमा नेपाली किसान छन् ।
केराको उत्पादन र खपत उच्च हुने समय हो यो । चाडपर्वका लागि ठूला बजारमा व्यवसायीले चिस्यान केन्द्रमा केराको भण्डारण गर्ने र दसैं, तिहार, छठसम्मलाई केराको माग पूरा गर्ने गरेका छन् । तर काठमाडौं र बुटवलका ठूला व्यवसायीले धेरै नाफा कमाउन भारतबाट नेपाल भित्र्याएको केरा किनिदिँदा नेपाली किसान मर्कामा परेका हुन् ।
जिल्लामा अहिले २ करोडभन्दा बढी मूल्यको केरा तयारी अवस्थामा छ । यहाँ उत्पादित केरा प्रतिदर्जन ४० सम्मका बिक्री हुने गरेकामा अहिले ३० रुपैयाँ दर्जनमा पनि नबिकेको किसानहरूको गुनासो छ । भारतीय केरा प्रतिकिलो भारतीय ८ देखि १० रुपैयाँमा कारोबार भएको हुँदा व्यवसायीले नक्कली कागजपत्र बनाएर सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।