विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय ३५ वर्षीया जानकी मुखिया मृत आइतबार मृत अवस्थामा फेला परेकी हुन् । अघिल्लो दिन छिमेकीसँग हाँसको विषयमा झगडा परेको थियो । भोलिपल्टै उनी मृत भेटिएपछि प्रहरीले घटनालाई रहस्यमय रहेको भन्दै अनुसन्धान प्रक्रिया बढाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले शवको पोष्टमार्टमका लागि पठाइएको जानकारी दिनुभयो । पोष्टमार्टम् रिपोर्टका आधारमा थप अनुसन्धानको प्रक्रियामा जानेछौं, प्रहरी निरीक्षक खड्काले भन्नुभयो–अहिले नै अनुमान गरेर भन्न सकिने आधार छैन, शरिरमा कुनै त्यसो चोटपटक देखिएको छैन ।
घटनाका विषयमा स्थानीयका दुईथरी मत रहेका छन् । अघिल्लो दिन भएको वादविवादको निहुँमा घटना घटेको हुनसक्ने भन्दै कतिपयले गहिरो ढंगबाट अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । मृतकलाई छिमेकीले हाँस चोरी गरेको आरोप लगाएपछि वादविवाद भएको थियो ।