जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दीमा जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ । हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ ।
हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए । उनले भने, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वैशाख लागेपछि मात्र उत्पादन बढ्ने देखिन्छ ।”
बेंसीशहर नगरपालिका–१ दलालस्थित जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको उक्त आयोजनामा विगतका वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गरिएको हो । कूल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।