कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् ।
त्यसो त चितवनमा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यसको प्रयोग उस्तै छ । किसानले मल, बीऊ ओसारपसारदेखि तयारी वस्तु बिक्रीसम्ममा साइकलको प्रयोग गर्ने गरेका छन् । साइकलमा मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न साइकलको प्रयोग हुँदै आएको छ । स्कुल र कलेज जाने विद्यार्थीले ठूलो सङ्ख्यामा साइकलको प्रयोग गर्दै आएका छन् । स्वास्थ्य तन्दुरुस्त राख्ने प्रयोजनले बिहान बेलुकी साइकल चलाउनेको सङ्ख्या पनि जिल्लामा ठूलै रहेको छ । पालिकाले छात्रालाई साइकल बाँड्ने गरेका छन् ।
चितवन र नवलपुर जिल्लाका साइकल व्यवसायीको संस्था साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका पूर्व अध्यक्ष श्यामले खरेल दुई जिल्लामा गरेर तीन सय हाराहारी साइकल पसल रहेको बताए । ठूला होलसेल गर्ने, मध्यम साइकलको बिक्री गर्ने र साना साइकल मर्मत गर्ने पसल यसमा पर्दछन् ।
करिब २० हाराहारी ठूला होलसेल पसल छन् भने ८० हाराहारी मध्यम र अन्य साना पसल रहेका छन् । एकीन तथ्याङ्क नभए पनि दैनिक एक सयभन्दा बढी साइकल नयाँ साइकल बिक्री हुने गरेको उनको अनुमान छ । विगतमा बिक्री हुने साइकल र अहिले बिक्री हुने साइकल फरक छन् ।
बिक्रेताले ग्राहकको चाहना अनुसार फरक फरक मोडलका साइकल ल्याउने गरेको उनले बताए ।
राईडर्स माउन्टेन बाइक स्टेशन नारायणगढका सञ्चालकसमेत रहेका खरेलका अनुसार बजारमा रु सात हजार ५०० देखि एक लाख ५० हजारसम्मका साइकल बिक्री हुने गरेका छन् । त्यसो त रु सात हजार ५०० देखि रु १५ हजारसम्मका साइकल धेरै मात्रामा बिक्री हुने उनको भनाइ छ । एक लाख र त्योभन्दा बढी मूल्यका साइकल भने फाट्टफट्ट मात्रै बिक्री हुने गरेको खरेलले बताए ।
व्यवसायीले भारत र चीनबाट साइकल र साइकलका सामग्री ल्याउने गर्दछन् । अहिले हरेकजसो घरमा साइकल भएको उनको भनाइ छ । खरेलले भने “घरमा कार र मोटरसाइकल भए पनि साइकल हुन्छ ।” विलासी सवारी हुनेले पनि दूध, फलफूल किन्न, मिल जान साइकलको प्रयोग गर्ने गरेको पाइन्छ । विगतमा पुरानो हुँदासम्म मर्मत गर्दै साइकल चलाउने गरेको भए पनि अहिले सामान्य मर्मत गरेर चल्ने साइकल कवाडीमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।
साइकलका कारण मानवीय स्वास्थ्यसँगै ठूलो मात्रामा इन्धन बचत भएको व्यवसायीको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले चितवनमा दैनिक २५ हजार हाराहारी साइकल चल्ने बताए । उहाँका अनुसार ती साइकलले दैनिक चार किलोमिटर सरदर यात्रा गर्दा पनि दैनिक रु १५ लाख बराबरको इन्धन बचत हुने उनको अनुमान छ ।
जिल्लाको जति नै विकास भए पनि साइकलको महत्व नहराउने गौतम बताउँछन् । उनका अनुसार उद्योग र असङ्गठित क्षेत्रमा काम गर्ने मजदूरदेखि महँगा गाडी चढ्ने व्यवसायीसम्मले साइकलको प्रयोग गर्ने गरेका छन् ।
वातावरणीय दृष्टिकोण र पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्न साइकल प्रयोगलाई राज्यले प्रोत्साहन गर्नुपर्ने गौतमको भनाइ छ ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा डा कृष्णप्रसाद पौडेलले साइकल र पौडीबाट मानिसको शरीरको पूरै अङ्गहरुलाई व्यायाम हुने बताए । उनले भने “चीन र जापान जस्ता देशले साइकललाई प्रवद्र्धन त्यसै गरेका होइनन् ।” कार्यालय जाँदा, यात्रा गर्दा साइकलको प्रयोग गर्न सकेमा इन्धन बचाउन सकिने उनले बताए ।