सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् । आज हानथुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङ मार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्वार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ ।
आज करिब ४/५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदूर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा परेका अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए ।