बाराको निजगढ वडा नं-७ भेटनरी छेउ(लिचीटोल) स्थित घरबाट निस्केको फोहोर पानी जम्मा भएको खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
लिचीटोलका स्थानीय जगलाल साहले घरको पानी जम्मा गर्न भनेर खनेको खाडलमा डुबेर बालकको मृत्यु भएको थियो । कलैया उपमहानगरपालिका घर भइ ज्याला मजदुरीको काम गर्ने शिलसिलामा हाल निजगढमा बस्दै आएका रामाकान्त यादवका ५ बर्षिय छोरा विवेक यादबको मृत्यु भएको हो ।
आईतबार दिउसो करीब ३ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दा समेत कतै फेला नपरेपछि मृतक बालकका एकजना साथीले खाल्डोमा खसेको सुचना परिवारका सदस्यहरुलाई गराएपछि खाल्डोको पानी बाहिर निकालेर हेर्दा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।साथीहरुसंग खेल्ने क्रममा बालक एक्कासी पानीले भरिएको करिव ५ फीट गहिरो खाडलमा खसेको हुनसक्ने बताइएको छ ।
शवपरीक्षणका लागि कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।घरको भान्छा र बाथरुमबाट निस्किेको पानी जम्मा गर्न जगलालले जेसिबी प्रयोग गरेर केही समयअघि करिव ५ फिट गहिरो खडल खनेका हुन । नालाको उचित निकास नहुदा यस्ता घटनाहरु समाजमा घटने गरेको स्थानियहरुको भनाई छ ।