बाराको निजगढ स्थित शहीद चोकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न , स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिनु पर्ने माग राखेर राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले आज सोमबार साँझ मशाल जुलुस तथा विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरुले आज साझ मशाल जुलुस तथा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा चर्काे नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । शहिद चोकमा पुगेपछि प्रहरीले युवाहरुले बोकेको मशाल खोस्ने प्रयास गरेको थियो । सुरक्षाकर्मीले मसाल जुलुस खोस्न खोजे पनि छल्दै उनीहरुले मसाल बालेर प्रदर्शन गरेका थिए ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने,पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्तागर्नुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेको राष्ट्रिय युवा संघ नेपाल निजगढका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागीहरुले गठवन्धन सरकारविरुद्ध पनि नारा लगाएका थिए । पुर्वपश्चिम लोकमार्गस्थित लायन्स चोकबाट सुरु भएको प्रदर्शन शहिद चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य तिलक घलान,ईराज कोईराला भावना आचार्य , मधेश प्रदेश कमिटीका सह-सचिब सर्मिला केसि लगायतले बोल्नु भएको थियो ।