उदयपुर : उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्यान गएको छ। शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधेरी झर्ना नजिकै मक्किएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो।
मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा दनुवार रहेकी छिन्। रुखले किचेर श्रीमान श्याम दनुवारसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।
अटोभित्र रहेकी ती महिलाको रुखले किचेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए। रुख ढल्दा एउटा अटो र एउटा मोटरसाइकललाई किचेको छ।
प्र.२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटरसाइकलमाथि रुख लडेर किचेको हो। घुम्न गएका केही व्यक्तिहरुले भने घटना आसपासबाट भागेर ज्यान बचाएका थिए। घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ।