काठमाडौं । कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । शनिबार बैंक तथा वित्तीय संस्थाले फागुनका लागि निक्षेपको ब्याजदर प्रकाशन गरेका छन् । जसअनुसार वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत पुगेको छ ।
पुसको तुलनामा माघमा मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढी थियो । यसका आधारमा वाणिज्य बैंकहरूमा संस्थागत एकवर्षे मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम भएको छ ।
पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर औसतमा साढे ११ प्रतिशतभन्दा बढी थियो । सुविधाजनक कर्जाबाहेक सबै कर्जाको न्यूनतम ब्याजदर पनि करिब १२ प्रतिशत हाराहारीमा थियो । अहिले करिब १ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढेकाले सोही अनुपातमा नयाँ कर्जाको ब्याजदर पनि बढ्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘लागतमा भएको वृद्धिअनुसार कर्जाको ब्याजदर पनि बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘निक्षेपमा लागत बढेमा बैंकहरूले त्यो लागत ऋणीबाटै असुल्ने हो । यसकारण पनि कर्जाको ब्याजदर बढ्छ ।’ निक्षेपको ब्याजदर बढेसँगै अब कर्जाको ब्याजदर पनि औसतमा १२ प्रतिशतभन्दा माथि पुग्ने उनको अनुमान छ ।