निजगढ,चैत्र १२ ।
निजगढ मेयर गोल्डकप फुटबलमा नेपाल खेलकुद क्लव रौतहटले विजयी शुरुवात गरेको छ ।
निजगढ मेयर गोल्डकप फुटबलको चौथो संस्करणको शनिबार सम्पन्न उद्घाटन खेलमा नेपाल खेलकुद क्लवले बिरगंज युथ एकेडेमीलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ । नेपाल खेलकुद क्लवको जितमा म्याक्सवेलले निर्णायक गोल गरे । खेलको शुरु देखि नै बिरगंजले गोलको अवशरहरु सृजना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुनपुग्यो ।
खेलको अन्तिम समयमा अतिरिक्त २ मिनेट थप गरिएको समयमा नेपाल खेलकुद क्लवका म्याक्सवेलले गोल गर्दै टिमलाई सेमिफाईनल पुर्याउन सफल भए । खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लवका म्याक्सवेल घोषित भए । म्यान अफ द म्याच घोषित म्याक्सवेलले ट्रफी सहित २ हजार रुपैंया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतबार बकुलिया एघार बारा र निजगढ बीच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडीया खेल मैदानमा संचालन हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।
यसअघि प्रतियोगिताको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मेयर खनालले मेयर कप फुटबलको चौथो संस्करणसम्म आईपुग्दा प्रतियोगिताको स्तर वृद्धि र निजगढमा फुटबल खेलको बिकास भएको बताउनुभयो ।
निजगढ युवा क्लवको आयोजनामा संचालित प्रतियोगितामा निजगढ सहित बिरगंज युथ एकेडेमी,बकुलिया एघार बारा,बारा एघार,नवजनजागृति युवा क्लव सिमरा बारा,नेपाल खेलकुद क्लव रौतहट र हरिवन युथ क्लव सर्लाहीको सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ ।
तेस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २ हजार र प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट गोलरक्षक,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र प्रतियोगिताको उच्च गोलाकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्नेछन ।