निजगढ,१४ चैत्र ।
बाराको निजगढमा भइरहेको निजगढ मेयर गोल्डकपमा बारा एघार निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा निजगढ रातो लाई टाईब्रेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै बारा एघार सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३ मिनेट मै संजय चौधरीले गोल गर्दै बारा एघारलाई शुरुवाती अग्रता दिलाएकाथिए । प्रतिस्पर्धात्मक बनेको खेलको १८ औ मिनेटमा निजगढका श्याम कुमरले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । तर ३२ औ मिनेटमा राजकिशोर चौधरीले गोल गर्दै पुनः बारा एघारलाई अग्रता दिलाए ।
पहिलो हाफमा पछी परेको निजगढले दोश्रो हाफमा पुनः खेललाई बराबरीमा ल्यायो । ६९ औ मिनेटमा श्याम कुमरले व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई २—२ को अवस्थामा पुर्याए । निर्धारित समय बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा धकेलिएकोथियो । टाईब्रेकरमा निजगढका जेम्स धामीले प्रहार गरेको पेनाल्टी बारा एघारका गोलरक्षक राजिब चौधरीले बचाउ गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए ।
खेलको म्यान अफ द म्याच बारा एघारका गोलरक्षक राजिब चौधरी घोषित भए । म्यान अफ द म्याच घोषित चौधरीले दुई हजार रुपैंया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलबार हरिवन फुटबल क्लव सर्लाही र नवजनजागृति युवा क्लव सिमरा बारा बीच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडीया खेल मैदानमा हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।