नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल गर्ने केन्द्रीय नेतृत्वको निर्णय विरुद्ध मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा स्थानीय काँग्रेस नेताहरुले बिद्रोहमा उत्रिने घोषणा गरेका छन्।
संघीय सरकारमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको खबर आएपछि कांग्रेस नेताहरुले उक्त निर्णय नमान्ने बताउदै यस्तो घोषणा गरेका हुन्।
गठबन्धन मान्य नहुने भन्दै उनीहरुले काँग्रेसका कार्यकर्ता भएकोले रुख छाप बाहेक अरु दलको निर्वाचन चिन्हमा भोट हाल्ने कुरा स्विकार नहुने बताए। वीरगन्ज महानगरपालिका पर्सा प्रतिनिसधसभा निर्वाचन क्षेत्र १ र २ मा पर्छ। यसअघि यि दुईटै क्षेत्रका नेपाली काँग्रेसका क्षेत्रीय समितिले बेग्ला बेग्लै प्रस बिज्ञप्ति निकाल्दै तालमेल गरेर चुनावमा जान नहुने भन्दै असहमति सार्वजनिक गरेका थिए।
बुधवार नगर कार्यसमितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली र क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ताको अगुवाईमा पत्रकार सम्मेलन नै गरेर कार्यकर्ताको मर्म बिपरित केन्द्रको घोषणा भएको र सोविरुद्ध पार्टीभित्र विद्रोह गर्ने स्थानीय काँग्रेसी नेताहरुले चेतावनी दिए।
पत्रकार सम्मेलन गरेर वीरगन्ज महानगरमा कुनै पनि हालतमा अरु दलसँग चुनावी तालमेल नगर्ने बताए। पार्टीका पुराना नेता ध्रुव नेपालले पार्टी नेतृत्वले कार्यकर्ताको भावना सुन्ने विश्वास गरेको र त्यसो नभए स्वर्गिय बिपि कोइरालाको मार्ग निर्देशन अनुसार गलत निर्णय बिरुद्ध पार्टीभित्र आन्तरिक बिद्रोह गर्ने बताए।
पर्सा क्षेत्र–१ का क्षेत्रीय सभापति अरविन्द गुप्ताले उक्त पत्रकार सम्मेलन आफैमा केन्द्रको गैरमनासिब निर्णय बिरुद्ध एउटा बिद्रोह भएको बताए। ‘हाम्रो चाहना र भावनाको मुल्याकन गर्नेछ र निर्णयमा पुर्नबिचार गर्नेछ,’ नेता गुप्ताले भने, ‘कार्यकर्ताको भावना पार्टीले बुझेन र जबरजस्ती निर्णय लाद्न खोज्यो भने हामी विद्रोहका थप कदमहरु चाल्ने छौं।’
केन्द्रले गठबन्धनको निर्णय कार्यान्वयन गर्न बाध्य पार्न खोजे विद्रोह गरेर बागी उम्मेदवार खडा गरेर निर्वाचन लड्न सक्ने विषय उठेको र यसमा आन्तरिक छलफल भइरहेको गुप्ताले बताए। वीरगन्ज महानगरमा अरु दलसँग गठबन्धन नगरी कन नगरप्रमुख, उपप्रमुख र ३२ वटै वार्डमा वाड अध्यक्ष आफ्नो दममा प्रतिस्पर्धा गरेर चुनाव जित्ने माहोल भएको बेला पार्टी नेतृत्वले गलत निर्णय लाद्यन खाजेको नेताहरुले बताए।
वीरगन्जमा गठबन्धन आवश्यक नरहेको केन्द्रीय कार्यसमितिमा लिखितरुपमै जानकारी गराइसकेको उनीहरुले बताए। वीरगन्जमा कांग्रेसको मुख्य प्रतिस्पर्धा जसपासँगै रहेको बेला नेता कार्यकर्ताको मनोबल खस्काउने किसिमको निर्णय लाद्न खोजिएको स्थानीय काँग्रेस नेताहरुले बताए।
नगर अध्यक्ष श्रेष्ठले महानगरका ३२ वटै वडाका कांग्रेस बुथ सभापतिले गठबन्धन आवश्यक नरहेको र गठबन्धनमा नजाने भनेर लिखित सुझाव केन्द्रलाई दिएको जानकारी गराए। २०४६ सालपछि वीरगन्जमा कांग्रेस यतिखेर सबैभन्दा राम्रो अवस्थो रहेको उनले दाबी गरे। नगर उपसभापति सन्तोष गुप्ताले अरु दलसँग अप्राकृतिक गठबन्धन मान्न आफुहरु तयार नभएको बताए।
त्यस्तै बिहिवार एउटा प्रेस बिज्ञप्ति जारी गर्दै गठबन्धन गर्न नहुने जनाएका पर्सा क्षेत्र–२ का कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुदीनले पनि वीरगन्जमा अरु दलसंग गठबन्धन अवश्यक नभएको बताए। कांग्रेसको जनलहर बढेकाले वीरगन्जमा कांग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने उनले दावी गरे।