प्रलाद तिमल्सिना / बारा बाराको उत्तरी भेगमा रहेको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केरा बीमाको रकम नपाएर पीडित बनेका किसानले मंगलवार दिउसो निजगढमा विरोध प्रदर्शन गरेका छन ।
बीमा बापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा किसानले दिउसो १ बजे प्रर्दशन गरेका हुन ।
पटकपटक माग गर्दा पनि केराको बीमाको रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखोसो छ । उनीहरुले दुई दिन भित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
पटकपटक माग गर्दा पनि बीमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन अब दशै मनाउने पैसा समेत किसानसंग छैन, समयमै केराको बीमाको रकम नपाए बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको अवस्था भएको किसान साधुराम खरेलले बताए । उनले दुई दिन भित्रमा रकम प्राप्त नभए किसानले चरणवद्ध आन्दोलन गर्ने बताए । यस्तै बीमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाण्डौंमा पुगेको छ । टोलीले आइतवार काठमाण्डौंमा कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोबिन्द शर्मासंग भेट गरेर किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेको किसानको भनाई छ ।
काठमाण्डौंस्थित त्तकालिन हिमालयन इन्सोरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्सोरेन्स मार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसंग बीमाबापतको करिव ६ करोड रुपैया भुक्तानी लिन बाँकी छ । संझौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । गत बैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रकृया पुरा गरेर सोही समयमा बीमा रकम दाबी गरेका हुन ।
गत बैशाख १६ गते पानीसंगै आएको हुरीले केराको बोट ढालेर ५ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको थियो ।
स्थानीय किसानका निजगढमा करिव १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूणर्रुपमा क्षेति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन ।
केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए ।
निजगढमा केरा खेति गर्ने करिव ९ सय किसान मध्ये थोरैले मात्रै बिमा गरेको र बिमाबापतको रकम लिन उनीहरुले समस्या बेहोर्नु परेको किसानहरुको गुनासो छ ।
गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन ।