चार वर्षअघिसम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका– ८, सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उनको सुन्तला बगानमा १ सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु भएको छ भने ५२ वटा कागतीका बोट हुर्किरहेका छन् ।
राम्रो धान फल्ने खेतमा धमाधम सुन्तला खेती बिरुवा लगाउँदा धेरैले खेतीयोग्य जमिन मासेर रूख उमारेको भन्ने गरेका थिए । तर, व्यावसायिक रूपमा धान खेतीभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीले दिने भएपछि जिसीले धान मासेर सुन्तला र कागती खेती गरेका हुन् । यससँगै उनले परीक्षणका लागि एक रोपनी जग्गामा बहुगुणी फलफूल किबी पनि रोपेका छन् ।
१६ वर्ष भारतीय सेनामा सेवा गरेर अवकाशपछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषिसँगै उद्योग सञ्चालनमा ल्याएका छन् । जिसी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो ।
वडाध्यक्षको कार्यकालभरिमा सिगानाका जनतालाई ३५ हजार सुन्तलाका बिरुवा लगाउनका लागि अभियान नै चलाइएको थियो । ‘मेरै घरमा सुन्तला थिएन, यो बीचमा मैले सुन्तला खेतीका धेरै फाइदा बुझे, अहिले सात रोपनी जग्गामा सुन्तला र कागती खेती गरेको छु’, जिसीले भने, ‘धान खेती मासेर सुन्तला लगाउँदा तत्काललाई भन्दा पनि दीर्घकालीन रूपमा फाइदा पुग्छ, सुन्तलाकै बीचमा अन्य तरकारी खेतीसमेत गर्दै आएको छु, फर्निचर उद्योग र कृषि खेतीबाट आठ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छु ।’
खड्काले अवकाशपछिको जीवन धेरैले आराम गरेर बिताउने गरे पनि आफूले भने कृषि, उद्यम र सामाजिक कामलाई सँगसँगै लगेको बताए । जिसीले परीक्षणका लागि लगाउनुभएको किबी खेतीसमेत सफल भएको बताउँदै पहिलो वर्ष नै किबीले राम्रो उत्पादन दिएको बताए । जिसीकी श्रीमती पुष्पा क्षेत्रीले सुन्तला र कृषि खेतीमा सघाउँदै आएकी छन् ।