मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाईट’ सञ्चालन गरिने भएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि एक साता यान्त्रिक उडान हुने जानकारी दिए ।
यसअघि प्राधिकरणले मङ्सिर १४ गतेदेखि यान्त्रिक उडान गर्ने जनाएको थियो । पोखरा विमानस्थलमा एकसाता यान्त्रिक उडान हुनेछ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।
यान्त्रिक उडानकोक्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडानका क्रममा हाल पुरानो विमानस्थलको आन्तरिक उडान पूर्ण रोक्नुपर्छ भनेर एरोथाइका प्राविधिकले भनेका छन् नयाँ विमानस्थलमा यान्त्रिक उडान गर्नुपर्ने भएकाले पनि उडान तालिका मिलाउने प्रयासमा छौँ,’ प्रवक्ता निरौलाले भने ।