बाराको निजगढमा प्रहरीले कुहिएको अवस्थामा हिजो दिउसो निजगढ नगरपालिका वडा नम्बर ८ को वन क्षेत्रमा शव फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार तामागढी– रतनपुर सडक खण्डको निजगढ ८ मा पर्ने बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा दिउसो १२ बजे सढेर गलेको अवस्थामा पहिचान खुल्न नसकेको शव फेला परेको बताउनु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय निजगढबाट ५ सय मिटर उत्तरको जंगलमा फेला परेको शवका लिङ्ग समेत पहिचान हुन सकेको छैन । प्रहरी निरीक्षक ओलीले करिव ८/९ दिनअघि नै मृत्यु भएको हुनसक्ने भन्दै पहिचानको लागि शव प्रादेशिक अस्पताल कलैयामा पठाएको जानकारी दिनुभयो । जंगलमा घाँस दाउरा गर्न गएका स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।