निजगढ नगरपालिका कार्यालयले संचालन गर्न लागेको लोकसेवा तयारी कक्षाको अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्न भएको छ ।
आजबाट सुरु हुने निःशुल्क तयारी कक्षाको बारेमा सहभागीहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, गौरीशंकर कलेजका प्रमुख रामप्रसाद गौतम, गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झा, सार्वजनिक मावि बागदेवका प्रअ हस्तबहादुर लामा, बकैया ठाकुर माविका प्रअ हिमेश घिमिेर, निजगढ नगरपालिकाका योजना अधिकृत अजय उप्रेती, कार्यालयका सूचना अधिकारी रविन घिमिरेलगायतले लोकसेवा तयारी कक्षाको आवश्यकता र महत्व बारेमा बोल्नुभएको थियो ।
निजगढ नगरपालिकाले स्थानीय विद्यार्थीहरुलाई लक्षित गरेर संघीय र प्रदेश निजामति तथा स्थानीय सरकार सेवाको लागि शाखा अधिकृत तहदेखि सहायक चौथो श्रेणीसम्मको लागि तयारी कक्षा संचालन गर्न लागेको योजना अधिकृत अजय उप्रेतीले जानकारी दिनुभयो ।
तयारी कक्षामा निजगढका १३८ जनाको सहभागीता रहने र दैनिक २ वटा कक्षामा राखेर डेढ महिनासम्म लोकसेवा परीक्षाको तयारी गराइने अधिकृत उप्रेतीले बताउनुभयो ।