बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा ४ दिनदेखि बेपत्ता एक स्थानीय कान्छिमाया घलानको शव हिजो दिउसो घर नजिकै शंकास्पद अवस्थामा फेला परेको छ ।
गत शनिवारबाट बेपत्ता बनेकी ७२ बर्षिय घलानको शव घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो । स्याउलाले छोपेर राखेको अवस्थामा शव देखेपछि स्थानीय छिमेकीहरुले प्रहरीमा खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ढिलो खबर आएको र रात परेर अध्यारो भएकाले हिजो मुचुल्का तयार पार्न नभ्याइएपछि घटनास्थलमा नै शव छाडेर प्रहरी टोली फर्किएको छ ।
कर्तव्य गरेर हत्या गरेको हुनसक्ने भन्दै आफन्त र स्थानीयले पनि मृतकको शव उठाउन मानेका थिएनन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयो । मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन । स्थानीयका अनुसार कान्छो छोराको मानसिक अवस्था बिग्रेको र ३/४ दिन अघिदेखि उनले पनि घर छोडेर हिडेको बताइएको छ ।
श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन । यसैबीच कान्छो छोरालाई मकवानपुर प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।