संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजमणी निरौलालाई पठाएको छ ।
मन्त्रालयले फाल्गुन ३ गतेको निर्णयअनुसार संघीय मामला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत उपसचिव निरौलालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइडमा निरौलाको निजगढ सरुवा बारे जानकारी गराएको छ ।
यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको सरुवा भएको छ ।
उपसचिव धितालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंंमा सरुवा भएको हो । धितालको सरुवा बारे सामान्य प्रशासन मन्त्रालयले निजगढ नगरपालिका कार्यालयमा गत हप्ता नै पत्र पठाएको निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।
अधिकृत धितालले आफूले निजगढ नगरपालिकामा हाजिर हुन आउनु पूर्व अख्तियारको कार्यालयमा सरुवा पाउन माग गरेको र अहिले मागेअनुसार सरुवा भएको बताउनुभएको छ ।
निजगढ नगरकार्यपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सरुवा र सरुवा थमौति बारेमा नगरपालिकाका मेयर सुरथ पुरी र बहुमत कार्यपालिका सदस्यहरुबीच उत्पन्न विवादपछि सामान्य प्रशासन मन्त्रालयले कार्कीको स्थानमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत उपसचिव धिताललाई गत भाद्र १ गते निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । हाल निजगढ नगरपालिकामा निमित्त प्रशासकीय अधिकृतमा शिव प्रसाद देवकोटा हुनुहुन्छ ।