मानव कल्याण समाजले सोमबारबाट निजगढमा सडकमानवको उद्धार सुरु गरेको छ ।
समाजले निजगढ नगरपालिका वडा नम्बर ३, ४ र ७ बाट मानसिक अवस्था सुस्त रहेका ४ जना सडक मानवको उद्धार गरेर निजगढ नगरपालिका वडा नम्बर ४ स्थित चारघरे टोलमा आफ्नो सेवाघरमा सेवा दिन खोजेको छ । निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको रोहबरमा सडकमानवको उद्धार गरिएको थियो । केहि दिन अघि मात्रै निजगढमा सेवाघर संचालनमा कसरी लेरआउन सकिन्छन भनेर स्थानीय समाजसेवीहरुबीच छलफल कार्यक्रम राखिएको थियो ।
निजगढमा सेवाघर संचालनमा आएलगत्तै सडकमानवको उद्धार सुरु गरिएको हो । समाजले स्थानीय होमबहादुर खडकाले निःशुल्क उपलब्ध गराएको घरमा आइतवारदेखि सेवाघर संचालनमा ल्याइएको छ । भक्तपुरमा मुख्य कार्यालय रहेको संस्थाले विभिन्न कारणले सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टप्रद जीवन बिताउदै आएका असक्त, अनाथ, अपाङ्ग, मनोरोगी र बेवारिसे मानिसहरुको उद्धार गरेर उनीहरुको खाना, बास स्थान, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रबन्ध गर्दै आएको छ ।
सेवा घरमा राखिएकाहरुको अवस्थामा सुधार आएपछि उनीहरुलाई घर परिवारको जिम्मा लगाइने पनि अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो ।