प्रलाद तिमल्सिना,बारा –
बारामा हात्तीको आक्रमणबाट जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा ४५ वर्षीय जापाङ दर्लामी रहेका छन् ।
घास लिन जंगल जाने क्रममा दर्लामीलाई नजिकैको जंगलमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् । पटक-पटक जंगली हात्तीको आक्रमण हुदा स्थानीय त्रासित बनेका छन् । स्थानीय समाजसेवी रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ ।
हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज छेउमै पर्ने भएकाले हात्तीको त्रास गाँउमा बढदो छ ।
मृत्यु भएका दर्लामीको शव टाँगिया बस्तीमा ल्याएर राखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । हात्ती बस्ती आसपासमै हुन सक्ने भएकोले सचेत भएर बस्न बस्तीका बासिन्दालाई आग्रह गरिएको उनले बताए ।