रौतहट | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यालय अनाधिकृत रुपमा प्रयोग गरिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) ले आपत्ती जनाएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको जनज्योति बहुमुखी क्यापसमा रहेको स्ववियु कार्यालय कार्य अवधि सकिसकेको कमिटीले आफु अनुकुल अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै अनेरास्ववियुले निर्वाचन कमिटीको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियु जनज्योति क्याम्पस इकाइ प्रमुख सफल उप्रेतीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले निर्वाचन अधिकृत विनोद तिमल्सिनालाई ध्यानाकर्षण पत्र बुझाउँदै चैत्र ५ गतेको स्ववियु निर्वाचन तालिका समेत निर्धारण भैसकेको अवस्थामा जनज्योति बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा कार्य अवधि सकिएका स्ववियु सभापतीले स्ववियु कायम रहेहैं गरी स्ववियु कार्यालय भित्र सभापतीको कुर्सीमा रही भिड जम्मा गरी गतिविधी गरीरहेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


ध्यानाकर्षण पत्रमा ‘अहिले निर्वाचनको तयारी भइरहेको समयमा आचारसंहिताको गम्भीर उलंघन भएकोमा निर्वाचन कार्यालय मुकदर्शक भएकाले तत्काल स्ववियु कार्यालय बन्द गर्न ध्यानाकर्षण गराउदँछौ । यही यस्ता गतिविधी बन्द नभएमा त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी निर्वाचन कार्यालयनै हुनेछ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ । वि.संं. २०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का संगम श्रेष्ठ जनज्योति बहुमुखी क्याम्पसको सभापतिमा निर्वाचित भएका थिए । २ वर्ष कार्य अवधि रहने स्ववियुको समयअवधि सकिएको ४ वर्ष बितिसक्दा पनि अझै स्ववियुको कार्यालय र लेटरप्याडको दुरुपयोग गरिरहेको भन्दै सो कार्य निर्वाचन कमिटीले तत्काल रोक्नुपर्ने इकाइ सभापति उप्रेतिको माग छ । उनले स्ववियुको कार्यालय नेविसंघको कार्यालय जसरी प्रयोग भइरहनु दुःखद् भएको भन्दै यस्ता गतिविधिहरुलाई तत्काल क्यापस प्रशासन एवम् निर्वाचन कमिटीले रोक्नेमा विश्वास व्यक्त गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै निर्वाचन अधिकृत तिमल्सिनाले आफुहरुले अनेरास्वियुको ध्यानाकर्षणलाई गम्भिर रुपमा लिएको भन्दै यस विषयमा सरोकारवालासँग बुझेर निर्णय लिने बताए । यसै बिच चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्रबार जनज्योति बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठन दर्ता कार्यक्रम सकिएको छ । निर्वाचन अधिकृत तिमल्सिनाका अनुसार क्याम्पसमा निर्वाचन प्रयोजनका लागि ७ वटा विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा संगठन दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने रस्ववियु आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिका रहेको तिमल्सिनाले बताए । चैत्र ५ गते जनज्योतिसँगै देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
















