- प्रलाद तिमल्सिना
बारा । बाराको सिमरामा जारी १३ औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘बी’ डिभिजन क्लब वीरगन्ज युनाइटेड सँगको प्रतिस्पर्धामा एनआरटीका अशोक थापाले गरेपछि निर्णायक गोल बनेको थियो । खेलको २९औँ मिनेटमा कृतिशरत्न चुन्जुले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ४८औँ मिनेटमा विवेक चौधरी वन भर्सेस वनको स्थितिमा चुक्न पुगे । विवेकको प्रहार गोलपोस्टनजिकबाट बाहिरियो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनि बीरगञ्जले स्कोर बनाउन सकेन ।