बाराको महेन्द्र आदर्श केन्द्रबाट प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा रहेको महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जनालाई निलम्बन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थीको हिजोको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । हटाइएका केन्द्राध्यक्षसहितको ठाउँमा नयाँ शिक्षकलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । परिक्षा सुरुभएको १५ मिनेटमै परिक्षार्थी पवन साहले मोबाइलबाट फोटो खिचेर ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो पठाएका थिए । परिक्षा केन्द्र बाहिर रहेका व्यक्तिलाई प्रश्नपत्र पठाएको करिब ३० मिनेटपछि प्रहरीले जानकारी पाएको थियो ।
जनता माध्यमिक विद्यालय कचोर्वाका परिक्षार्थी साहले प्रश्नपत्रको फोटो बाहिर रहेका दीपक साहलाई पठाएका हुन । ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्रको फोटो बाहिरएपछि परिक्षा केन्द्र बाहिर मोबाइल हेर्न भिड् लागेको थियो । सोही क्रममा प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।
प्रहरीले दीपकलाई अझै नियन्त्रणमा राखेको छने भने परिक्षार्थी साहलाई रिहा गरेको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार परिक्षार्थी साहको पहिलो दिनको परिक्षा रद्ध गर्ने निर्णय गर्दै उनलाई छाडिएको र दीपकलाई कारवाहीका लागि मुद्दा प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार परिक्षा रद्ध गर्नुपर्ने स्थिती भने नरहेको बताएको छ । प्रश्नपत्र बाहिरिए पनि उक्त ग्रपमार्फत उत्तर भने भित्र गएको नदेखिएकोले परीक्षा रद्ध गर्नुपर्ने अवस्थामा नरहेको उपरीक्षक बोगटीको भनाइ छ ।