बारा । बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद् तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले मुलुकको हितका लागि सँधै आवाज उठाउने बताएका छन् ।
यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । निर्वाचित भएको प्रमाणपत्र बुझेपछि यादवले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
यादवले मतदाता र गठबन्धन दलका नेताहरुलाई धन्यवाद पनि दिए । उनले मधेसी समुदायभित्र जात जातमा लडाइँ र जातीय विद्रोह फैलाउने र बीस घोल्नेहरु परास्त भएको टिप्पणी गरे ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा अनुसार सुरक्षा समितिको प्रमुखको हैसियतले यस क्षेत्रमा शान्तिपूर्ण निर्वाचन र मतगणना गराएकोमा खुसी व्यक्त गरेका छन् ।
प्र्रतिनिधिसभा सदस्य निर्वाचनमा यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।