गाँजा खाने विषयमा विवाद हुँदा जनकपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मोहम्मद गुलाम मन्सुर भन्ने रवानी मन्सुर रहेका छन् ।
धनुषा प्रहरीकाअनुसार मन्सुर विवादकै क्रममा मंगलबार राति १ बजे छतबाट लडेर घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा उपचारको क्रममा बुधबार मृत्यु भएको थियो । प्रहरी अनुसन्धानको क्रममा घटना शंकास्पद देखेपछि मृतकका चारजना साथीलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका चारमध्ये दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ७ जानकीनगर बस्ने २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नम्बर– ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका– २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् । धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएको जानकारी दिनुभयो ।
मंगलबार राति १ बजे जनकपुरधाम– २३ लादोमा चुरोट किनेर सोही स्थानमा रहेको निर्माणाधीन पक्की घरको दोस्रो तल्लामा चढेर उनीहरुले चुरोटमा गाँजा हालेर सेवन गरेका थिए । अन्त्यमा चुरोट तान्ने विषयमा विवाद हुँदा मन्सुर छतबाट लडेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।