एमबीबीएस अध्ययनरत दुई विद्यार्थीलाई १० लाख
बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई जनही १० लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
नगर प्रमुखमा निर्वाचित भएको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले अध्ययन छात्रवृत्तिस्वरुप रकम प्रदान गर्नुभएको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले पचरौता नगरपालिका वडा नम्बर ५ की निशा चौरसिया र वडा नम्बर १ का अंशु राजलाई जनही १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
निशा र अंशु दुबै एमबीबीएसमा अध्ययनरत छात्र÷छात्रा हुन् । नगर प्रमुख सिंहले यसअघि रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गर्नुभएको थियो । अध्ययनका लागि नगरपालिकाबाट सहयोग प्राप्त गरेकी यादव समेत कार्यक्रममा सहभागी हुनुभएको थियो । छात्रवृत्ति पाएका छात्र÷छात्राले निर्वाचनको समयमा नगर प्रमुख सिंहले गरेका प्रतिबद्धता पूरा गरेको भन्दै खुसी व्यक्त गरेका थिए । नगर प्रमुखले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छात्र÷छात्राको भनाइ थियो । कार्यक्रममा नगर प्रमुख सिंहले राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने क्रिकेट खेलाडीलाई समेत सहयोग हस्तान्तरण गर्नुभएको छ । क्रिकेट प्रशिक्षणका लागि सिंहले भुलन सहनीलाई दुई लाख २५ हजार, सुशान्त सिंहलाई एक लाख ५० हजार, सहजाद हुसेन अंसारीलाई एक लाख, अभयकुमार सिंहलाई ६५ हजार र समीर अंसारीलाई ६० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी नगर प्रमुख सिंहले नगर क्षेत्रभित्र रहेका विभिन्न विद्यालयलाई एक सय २६ थान पंखा हस्तान्तरण गर्नुभएको छ । छात्रवृत्ति र पंखा हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले पचरौताको विकासले गति लिदै गरेको बताउनुभयो । आफू निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघि बढेको बताउदै सिंहले नगरबासीले आगामी दिनमा नगरबासीले अनुभुति हुने गरि काम हुने बताउनुभयो ।
पचरौतामा एक सय शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको बताउदै सिंहले हालै संचालनमा आएको प्रयोगशालामा आगामी वर्षदेखि ल्याब परीक्षणलाई निःशुल्क बनाइने पनि बताउनुभयो ।